१० साउन २०८३, आइतबार

शशांकसँगको भेटमा देउवाले भने–संसदीय दलको नेतामा उठ्ँदैछु मलाई सघाउनुस्

मंसिर २०, २०७९
शशांकसँगको भेटमा देउवाले भने–संसदीय दलको नेतामा उठ्ँदैछु मलाई सघाउनुस्
फाइल तस्वीर

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उठ्ने तयारी थालेका छन् । संसदीय दलको नेता बन्न चाहेका देउवाले नेताहरूसँग सहयोगका लागि आग्रह गरेका छन् । 

पूर्वमहामन्त्री डा. शशांक कोइरालासँग मंगलवार बिहान भएको भेटमा देउवाले संसदीय दलको नेतामा आफूलाई समर्थन गर्न प्रस्ताव गरेका हुन् । पूर्वी नवलपरासीबाट लगातार चौँथो पटक चुनाव जितेका कोइराला देउवासँग बधाइ साट्न बिहान बालुवाटार पुगेका थिए । 

कोइरालाका सहयोगी भरत तिवारीले देउवाले संसदीय दलको नेतामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए । ‘सभापतिज्यूले संसदीय दलको नेतामा उठ्ने तयारी गरेको र समर्थन गर्न आग्रह गर्नुभयो । शशांक दाइले बधाइ दिन मात्र आएको हो भन्नुभयो’, तिवारीले लोकान्तरसँग भने । 

विगतमा देउवा इतरको प्यानलबाट चुनाव लडेर महामन्त्री भएका शशांक कतै खुलेका छैनन् । देउवालाई भेटेलगत्तै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले शशांकलाई भेटेका थिए । 

शशांकलाई भेट्न पौडेल कोइराला निवासमा पुगेका थिए । संसदीय दलको नेताका लागि पौडेलले पनि दौडधूप गरिरहेका छन् । ‘रामचन्द्र दाइसँग पनि भेट भएको हो, आजै शेखर दाइसँग पनि भेट्ने कुरा थियो । शेखर दाइ विराटनगर जानु परेकोले आज सम्भव भएन । सबै भेटमा बधाइ साटासाट मात्र भएको छ’, तिवारीले भने । 

नेपाली कांग्रेसभित्र देउवाका अतिरिक्त महामन्त्री गगन थापा, रामचन्द्र पौडेललगायतले संसदीय दलको नेताका लागि आकांक्षा देखाएका छन् । नयाँ सरकारको नेतृत्व दाबी गरेको कांग्रेसमा संसदीय दलको नेता बन्न कसरत शुरु भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्