
चितवनको भरतपुर महानगरपालिकाभित्र रहेका ३५ हजार घरधुरी महानगरबाट प्रदान गरिएको खानेपानीको पहुँचमा पुगेका छन् । यी घरमा बस्ने दुई लाख ३५ हजार जनता प्रत्यक्ष प्रभावित भएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ । पछिल्लो चार वर्षमा भरतपुर खानेपानी बोर्डमा १५ हजार घरधुरी थप भएका छन् ।
अहिले दैनिक तीन लाख लिटर खानेपानी वितरण हुँदै आएको छ । भरतपुर महानगरपालिकामा विसं २०७४ मसान्तयता केन्द्र, प्रदेश र स्थानीय तह गरी विभिन्न २३ खानेपानी आयोजनाको निर्माण एवं मर्मत सम्भार भएका छन् । सो अवधिमा करिब रु तीन अर्ब ७७ करोड खानेपानीको क्षेत्रमा विनियोजन भएको छ । महानगरपालिकाले दिगो विकासको अवधारणाअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाललाई उच्च प्राथामिकतामा राखेको छ । महानगरपालिकाले सात हजार लिटरसम्म खानेपानी खपत गर्ने ग्राहकलाई निःशुल्क व्यवस्था गरेको छ ।
नेपालको मध्य भागमा अवस्थित भरतपुर महानगरपालिका अहिले खानेपानीको पहँुचलाई तीव्र रुपमा अगाडि बढाइएको भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले बताइन् । भरतपुरमा केही वर्षअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने समस्या टरेर गएको उनले बताए । अबको केही समयमै शतप्रतिशत भरतपुरवासी शुद्ध खानेपानीको पहुँचमा पुग्ने गरी आयोजना निर्माणधीन रहेको उनको भनाइ छ । रासस