३१ जेठ २०८३, आइतबार

निर्माण व्यवसायीले बुझाए सडक निर्माणको कार्यप्रगति विवरण

मंसिर २१, २०७९
निर्माण व्यवसायीले बुझाए सडक निर्माणको कार्यप्रगति विवरण
प्रतिकात्मक तस्वीर

सगरमाथा राष्ट्रिय राजमार्ग अन्तर्गत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–सिम्पानी (राजापानी) सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायीले नगरपालिकासमक्ष कार्य प्रगति विवरण पेश गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको निर्देशनपछि महुरेदेखि राजापानीको सिम्पानी (२२ किलोमिटर) सडकखण्ड कालोपत्रको काम गरिरहेको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले प्रगति विवरण पेश गरेको हो ।

भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीका प्रतिनिधि सन्तोष ढकालले मंसिर–१६ गतेदेखि अगामी पुस– १३ गतेसम्म गर्ने कार्यविवरण पेश गरेका नगरपालिकाले जनाएको छ । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले मंसिर १६ गतेदेखि हप्ता दिनसम्म सवबेस मर्मत गर्ने, बेस क्रसर उत्पादन गरी बेस बोक्ने, बेस फिँजाउने र ४ किलोमिटरमा डीबीएसटी (पिच)को काम शुरू गर्ने कार्यविवरण पेश गरेको हो । 

नगर प्रमुख तीर्थराज भट्टराईले गत कातिक ३ गते पत्रकार सम्मेलनमार्फत अलपत्र १७ योजना र सम्बद्ध निर्माण कम्पनीको विवरण सार्वजनिक गर्दै भएका प्रगति, मासिक कार्ययोजना र मासिक प्रगति विवरण बुझाउन निर्माण व्यवसायीलाई निर्देशन दिएका थिए । 

उदयपुरको गाईघाट–दिक्तेल सडकखण्डको खोटाङभित्र पर्ने महुरे–फोक्सिङटार (४९ किलोमिटर) खण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटार (२७ किलोमिटर) खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीले लिएको हो । 

दुवै सडकखण्डको कालोपत्रको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेकाले विवरण पेश गर्न निर्देशन दिइएको उनले बताए । महुरे–फोक्सिङटार सडक दिक्तेलबाट उदयपुर हुँदै पूर्वी तराईका विभिन्न शहर आउजाउ गर्ने छोटो दूरीको बाटो हो ।

विवरणमा विविध कारणले कालोपत्रेका क्रममा अवरोध भएमा नगरपालिकालाई जानकारी गराउने र सहयोगको अपेक्षा राखेको उल्लेख गरिएको छ । भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले विक्रम संवत् २०७७ असार २९ गतेभित्र सम्पन्न गर्ने शर्तमा विक्रम संवत् २०७३ असार–३० गते योजनाको सम्झौता गरेको थियो ।

४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म करीब ५० प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्