
नेपालसहित विश्वभर बढिरहेको जनसंख्यालाई पर्याप्त स्वच्छ पानी, ऊर्जा र खाद्यान्न पुर्याउने काम चुनौतिपूर्ण रहेको विज्ञहरुले बताएका छन् । काठमाडौंमा जारी दुई दिने पानी, ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यशालामा विज्ञहरुले सो कुरा बताए ।
कार्यशालाको उद्घाटन गर्दै खानेपानी सचिव मणिराम गेलालले बढ्दो शहरीकरण र जनसंख्याको बृद्धिले संसारभर खानेपानी, ऊर्जा र खाद्यान्नको माग बढिरहेको बताए । स्वच्छ खानेपानीको स्रोतहरु सीमित मात्रामा भएकाले अभाव देखिएको उनको भनाइ छ । समयमा पानीको स्रोतको संरक्षण गर्नुपर्ने आवश्यकता उनले औल्याए ।
पूर्वमन्त्री गणेश साहले थोपा थोपा पानीको महत्व रहेको चर्चा गरे । विश्वको जनसंख्या ८ अर्ब पुगिसकेको छ । सबैलाई सम्मानित जीवन जिउन यथेष्ट पानी, ऊर्जा र खाद्यान्न हुनपर्छ, उनले भने ।
पूर्वसचिव सुमनप्रसाद शर्माले विश्व जनसंख्यालाई भोकमरी मुक्त पार्न र पोषिलो खाना उपलब्ध गराउने कार्य चुनौतीपूर्ण रहेको बताए । नेपालका बालबालिकामा पोषणको अभावले पुड्कोपन देखापरेको उल्लेख गर्दै सन् २०५० सम्ममा विश्वको जनसंख्या ९ अर्ब पुग्ने बताए । त्यतिबेला स्वच्छ खानेपानी, पर्याप्त स्वच्छ ऊर्जा र पोषणयुक्त खाद्यान्नको अभाव हुने उनको बुझाइ छ ।
स्मार्ट वास सोलुसन्सका अध्यक्ष ई.रामदीप साहले बढदो शहरी जनसंख्याका लागि स्वच्छ खानेपानी, स्वच्छ ऊर्जा र पर्याप्त पोषिलो खाद्यान्नका लागि सबै जना अहिलेदेखि गम्भीर हुनुपर्ने बताए । विकसित देशको अनुभव लिन आवश्यक रहेको उनको भनाइ छ ।
विज्ञ डा. उनहर शिनले पानी, ऊर्जा र खाद्यान्नको अन्तरसम्बन्ध, शहरी खानेपानी व्यवस्थापन, खानेपानीको चुहावट नियन्त्रण, दीगो विकासअनुरुपको व्यवस्थापन शैलीको बारेमा प्रकाश पारे ।
काठमाडौं विश्वविद्यालयका प्रा.डा. बिम श्रेष्ठले पानी ऊर्जा र खाद्यान्न अन्तरसम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । वैकल्पिक ऊर्जा प्रबर्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले नवीकरणीय ऊर्जा प्रविधिमार्फत नेपालमा खानेपानी, ऊर्जा र खाद्यान्न सुरक्षामा गरिएका योगदानबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।