२४ जेठ २०८३, आइतबार

धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर

मंसिर २१, २०७९
धौलागिरि अस्पताल अक्सिजनमा आत्मनिर्भर
प्रतिकात्मक तस्वीर

बागलुङको धौलागिरि अस्पताल अक्सिजन निर्यात गर्ने अवस्थामा पुगेको छ ।

धौलागिरि अस्पताल परिसरमा ३ करोड रुपैयाँ लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले आत्मनिर्भरसँगै निर्यात गर्ने अवस्थामा पुगेको हो ।

कोरोनाकालको दोस्रो लहरमा अक्सिजनको ठूलो समस्या भोगेपछि अस्पतालले प्लान्ट स्थापना योजना अघि बढाएको थियो । अस्पतालमा विगत २ महिनादेखि सञ्चालनमा आएको प्लान्टबाट अहिले नियमित अक्सिजन उत्पादन भइरहेको छ । 

अस्पतालको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन साविक धौलागिरि अञ्चलका जिल्लामा निर्यात गर्न थालिएको छ । अस्पतालमा २५ शय्यालाई पुग्ने प्लान्ट गण्डकी प्रदेश सरकारको ५० लाख रुपैयाँको लागतमा स्थापना गरिएको थियो । त्यसलगत्तै कोरोना संक्रमण बढ्दै जानु र अस्पतालमा बिरामीको संख्यामा उल्लेख्य वृद्धि हुँदा अक्सिजन प्लान्ट थप गरी स्थापना गरिएको छ ।

अस्पतालले अहिले अन्य जिल्ला तथा पालिका अस्पताल र निजी क्षेत्रलाई समेत अक्सिजन बिक्री गर्न थालेको धौलागिरि अस्पताल बागलुङका प्रशासकीय अधिकृत तेजप्रसाद न्यूरेले जानकारी दिए ।

उनले ३ करोड लागतमा स्थापना गरिएको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन अन्य अस्पताल र निजी क्षेत्रलाई अक्सिजन भरेर लैजाने व्यवस्था मिलाएको बताए । उनले बढी उत्पादन भएको अक्सिजन सुलभ मूल्यमा निर्यात गर्दा पनि अक्सिजन प्लान्ट सञ्चालन खर्चको समेत जोहो हुने बताए ।

सडक अवरुद्ध हुँदा झोलुङ्गे पुल तारेर अक्सिजन सिलिन्डर ल्याई कोरोनाका दोस्रो लहरमा बिरामीको ज्यान बचाइएको अनुभव उनले सुनाए । ‘सरकारले धौलागिरि क्षेत्रलाई नै पुग्ने गरी यही अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने गरी बजेट व्यवस्थापन गर्‍यो,’ न्यूरेले भने, ‘अहिले पर्वत जिल्ला अस्पतालमा आवश्यक अक्सिजन लैजाने गरिएको र बागलुङका पालिका अस्पताललाई समेत अक्सिजन प्रयोग गर्नका लागि सम्पर्कमा आउन पत्राचार गरिसकेका छौं ।’
  
उनले आफूहरूको प्लान्टमा उत्पादित अक्सिजन निजी कम्पनीको भन्दा सस्तो र पोखरा धाउन नपर्ने हुँदा समयको समेत बचत हुने बताए ।

salt training

कमेन्ट गर्नुहोस्