
महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र शमशेर जबरा प्रधानन्यायाधीशको हैसियतमा हाजिर हुन सर्वोच्च अदालत जाने भएका छन् ।
संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र पाएपछि चोलेन्द्र झण्डा हल्लाउँदै सर्वोच्च प्रवेश गर्ने तयारीमा जुटेका हुन् ।
आफूमाथि लागेको आरोपबाट क्लिनचिट पाएको र भोलि बिदा रहेकाले आजै सर्वोच्चमा हाजिर हुने तयारीमा रहेको चोलेन्द्र लोकान्तरसँग बताए ।
उनको कार्यकाल यही मंसिर २७ गतेसम्म छ ।
चोलेन्द्रविरुद्ध सत्ता गठबन्धनले २०७८ फागुन १ गते महाभियोग प्रस्ताव दर्ता गरेको थियो ।
महाभियोगमाथिको कारवाही नटुंगिँदै संसदको कार्यकाल सकिएपछि २०७९ असोज १ गते महाभियोग सिफारिश समितिले अर्को प्रतिनिधिसभाले अगाडि बढाउने गरी प्रस्ताव जिम्मा लगाएको थियो ।
अर्को प्रतिनिधिसभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिँदै थियो ।
यसअघि संसदको कार्यकाल सकिएपछि चोलेन्द्रले सर्वोच्चमा हाजिर हुन प्रयास गरे पनि सरकारले सहयोग गरेको थिएन ।
चोलेन्द्रले आफूलाई बालुवाटारस्थित निवासमै नजरबन्दमा राखेको आरोप समेत लगाएका थिए । त्यसयता चोलेन्द्र चुपचाप सरकारी निवासमै बस्दै आएका थिए ।
* चोलेन्द्र सर्वोच्च प्रवेश गर्दै हुनुपर्नेमा असावधानीवश प्रवेश गरिसकेको समाचार प्रकाशित भएकोमा सच्याइएको छ ।