
चोलेन्द्र शमशेर जबरा महाभियोग निष्क्रिय भएको पत्र लिएर प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालतमा हाजिर हुने तयारी गरेपछि बारले आकस्मिक बैठक बोलाएको छ ।
विकसित घटनाक्रमका विषयमा छलफल गर्न बारका काठमाडौंमा उपलब्ध पदाधिकारीहरूको बैठक बस्न लागेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।
चोलेन्द्रविरुद्ध आन्दोलन गर्दै आएको बारले उनी फेरि सर्वोच्च फर्किए के गर्ने भन्ने विषयमा छलफल गर्न लागेको हो ।
महाभियोग प्रस्ताव संसद्का कर्मचारीले निष्क्रिय गर्न नमिल्ने र सोही कारण उनलाई स्वीकार्न नसकिने भएकाले त्यस विषयमा छलफल हुन लागेको एक पदाधिकारीले जानकारी दिए ।
महाभियोग निष्क्रिय गर्ने अधिकार संसदमा मात्र रहेको उनको तर्क छ ।
बारले चोलेन्द्र सर्वोच्च फर्किएमा अवरोध समेत गर्न सक्ने सम्भावना रहेको उनले जानकारी दिए ।