
पाकिस्तान सरकार र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) बीचको युद्धविराम अन्त्य भएको लक्षण देखिन थालेको छ ।
विभिन्न सञ्चारमाध्यममा आएको खबरअनुसार, टीटीपीले अफगानिस्तान सीमासँग जोडिएको खैबर पख्तूनख्वामा एक पाकिस्तानी सैनिकको हत्या गरेको छ । हत्यापछि सैनिकको लाश रुखमा झुण्ड्याइएको छ ।
शवसँगै धम्कीयुक्त एक पत्र पनि भेटिएको छ । त्यसमा स्थानीय बासिन्दाहरूलाई मृत व्यक्तिको अन्त्येष्टिमा सहभागी नहुन भनिएको छ । सहभागी भएमा त्यसको परिणाम खराब हुने चेतावनी दिइएको छ ।
मृतक पाकिस्तानी सैनिकको नाम रहमान जमान भएको बताइएको छ । अफगान पत्रकार सुहैब जुबेरीले सामाजिक सञ्जालमा तालिबानको क्रूरताको जानकारी दिएका छन् ।
यस विषयमा पाकिस्तानी सेना र सरकारले कुनै बयान जारी गरेको छैन ।
नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाईका पिता जियाउद्दीनले त्यही क्षेत्रमा अर्को घटना पनि भएको सामाजिक सञ्जालमा लेखेका छन् ।
उनका अनुसार, सोमवार अबेर राति बन्नू जिल्लाको जानी खेल क्षेत्रमा रहेको एक घरमा टीटीपीका आतंकवादीहरू प्रवेश गरेका थिए । त्यहाँ उनीहरूले रहमानउल्लाह र उनका छोरा शाहिदलाई गोली हानेर मारे ।
रहमानउल्लाहको शव पनि उनीहरूले रुखमा झुण्ड्याए । परिवारमा १० वर्षकी एक बालिका मात्र बाँकी छिन् ।