
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसको नेतृत्वमा सरकार बनाउनु पर्ने बताउँदै प्रधानमन्त्रीमा सभापति शेरबहादुर देउवाले भने दाबी छाड्नुपर्ने बताएका छन् । अहिले एजेण्डा युवा पुस्तामा रहेकाले पार्टी सभापति देउवाले ठाउँ खाली गरेर अर्का महामन्त्री गगन थापालाई सघाउनुपर्ने शर्माको भनाइ छ ।
बुधबार बिर्तामोडमा प्रेस युनियन झापाले गरेको पत्रकार भेटघाट कार्यक्रममा शर्माले संसदीय दलको नेताको दाबी छोड्न देउवालालाई आग्रह गरेका हुन् । संसदीय दलको नेताको दौडबाट बाहिरिए देउवाप्रति पार्टी पंक्तिमा सम्मान बढेर जाने शर्माका टिप्पणी छ ।
‘पार्टी सभापतिले अब पनि प्रतिस्पर्धामा जुट्नुभन्दा सबैलाई अवसर दिने काममा लाग्नुपर्छ’, झापा निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित शर्माले भने, ‘ पाँच पटक प्रधानमन्त्री भइसक्नु भएका उहाँले अब फेरि म प्रधानमन्त्री हुन्छु भन्नुभन्दा पार्टीका अन्य नेतालाई पनि अवसर दिनुपर्छ भन्नेतिर लाग्नुभयो भने उहाँप्रतिको सम्मान दोब्बर भएर जान्छ ।’ शर्माले थापालाई दलको नेता बनाउने गृहकार्यमा आफू लागिसकेको समेत शर्माले बताए ।