३० जेठ २०८३, शनिबार

गुरुकूल ब्युँताउन धार्मिक महोत्सव शुरू

मंसिर २४, २०७९
गुरुकूल ब्युँताउन धार्मिक महोत्सव शुरू

सशस्त्र द्वन्द्वका बेला बन्द भएको परमानन्द संस्कृत गुरुकूल पाठशाला पुनः सञ्चालनको उद्देश्य राखेर बागलुङको ‘बिहुँकोट धार्मिक महोत्सव २०७९’ शुरू गरिएको छ ।

काठेखोला गाउँपालिका–५ रामकोटधाममा आयोजित महोत्सवको बिहीवार गलेश्वर आश्रम देवघाटधामका पीठाधीश महामण्डलेश्वर श्री १००८ स्वामी आत्मानन्द गिरी महाराजले शुभारम्भ गरे ।

रामकोटधामका संस्थापक दिवंगत स्वामी श्री १००८ परमानन्द सरस्वती महाराजले विक्रम संवत् २०३१ मा स्थापना गरेको गुरुकूल विक्रम संवत् २०५६ मा बन्द भएको थियो ।

गुरुकूल नचलेपछि यहाँका विद्यार्थीलाई देवघाटधाममा रहेको गुरुकूल विद्यापीठमा लगिएको थियो । पुनः रामकोटधामबाटै संस्कृत गुरुकूल चलाउने ध्येयले धार्मिक महोत्सव आयोजना गरिएको महोत्सवको प्रमुख संकल्पकर्ता बिहुँकोट अन्तर्राष्ट्रिय समाजका अध्यक्ष देवीलाल सुवेदीले बताए ।

मंसिर २८ गतेसम्म चल्ने महोत्सवमा देशभरबाट सन्त, महात्माहरूको उपस्थिति रहने जनाइएको छ । झाँकी प्रदर्शनी, हेलिकप्टरबाट पुष्ट वृष्टि, धार्मिकस्थलको दृश्यावलोकन, धार्मिक प्रवचन, वैदिक पूजाअर्चना, भजन संकीर्तन, पञ्चेबाजा प्रतियोगिता लगायत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

महोत्सवबाट संकलित रकम संस्कृत गुरुकूल सञ्चालनमा खर्च गरिनेछ । ‘महोत्सव शुरू हुनुभन्दा अगावै ६५ लाख जति जुटिसकेको छ, त्यति नै रकम सहयोगको प्रतिबद्धता आएको छ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्