
वीरगञ्जमा पार्किङको व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला सक्रिय भएका छन् ।
बजार क्षेत्रको पार्किङ समस्या समाधान गर्ने पहिलो प्राथमिकताका साथ सम्बन्धित निकाय सक्रिय भएका हुन् ।
वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्रलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि ट्राफिक व्यवस्थापनमा लागेका छन् ।
व्यवस्थापनका लागि वीरगञ्ज क्षेत्रका विभिन्न स्थानलाई पार्किङस्थलको रूपमा प्रयोग गर्न थालिएको छ ।
४ तथा २ पाङ्ग्रे सवारी पार्किङ गर्न विर्तास्थित मालपोत कार्यालय, हजारी मल ट्रस्ट, पुरानो बसपार्क, गीता मन्दिर छेउ र घण्टाघर नजिकको बीपी उद्यानको खाली जमिनमा व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए । ती स्थानमा पार्किङ गर्न ठाउँ उपलब्ध गराएपछि त्यहाँको व्यवस्थापन सम्बन्धित निकायले गर्नेछन् ।
यद्यपि विर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चोक, आदर्शनगर माईस्थानसम्म र घण्टाघरदेखि लिंक रोडको दुवैतर्फ ४ पाङ्ग्रे सवारीसाधनको पार्किङ निषेध गरिएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।