१६ असार २०८३, मंगलबार

बागलुङका १०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापनाका लागि सम्झौता

मंसिर २४, २०७९
बागलुङका १०८ विद्यालयमा भौतिक पूर्वाधार र ल्याब स्थापनाका लागि सम्झौता
प्रतिकात्मक तस्वीर

बागलुङमा चालू आर्थिक वर्षमा १०८ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याब स्थापना हुँदैछन् । ४ कोठे र २ कोठे भवन बनाउन स्थानीय तहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ ।  

शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका १०८ विद्यालयमा भौतिक पूर्वाधार र ३५ विद्यालयमा आईसीटी ल्याब स्थापनासँगै १४३ विद्यालयलाई स्थानीय पालिकामार्फत सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको छ ।  

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौमा बजेट विनियोजनका लागि विद्यालयको सूचि सार्वजनिक गरेकोमा मंसिर २८ गतेदेखि कार्यान्वयलाई स्थानीय तहसँग सम्झौता गर्न परिपत्र जारी गरेको छ । गत भदौ अन्तिममा बजेट विनियोजन गरिएको छ । 

विद्यालयमध्ये ४६ मा चार कोठे, ६२ मा दुई कोठे र ३५ मा आईसीटी ल्याबलाई बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार बागलुङमा ४६ चार कोठे भवन बनाउन ५० लाख रुपैयाँका दरले २३ करोड, ६२ विद्यालयको दुई कोठे भवन बनाउन २५ लाखले १५ करोड ५० लाख र ३५ विद्यालयमा आईसीटी ल्याबलाई ६ लाख ५० हजारले २ करोड २७ लाख ५० हजार गरी ४० करोड ७७ लाख ५० हजार बजेट विनियोजन भएको छ । 

गत वर्ष चार कोठे भवनलाई ३६ लाख र दुई कोठे भवनलाई १८ लाख बजेट प्राप्त भएकोमा भूकम्प प्रतिरोधी भवन बनाउन बजेट अपुग भएको विद्यालयको गुनासोपछि अहिले बजेट थप भएर चार कोठेलाई ५० लाख, दुई कोठेलाई २५ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिए ।

धेरै निसीखोला गाउँपालिकाभित्रका २० र थोरै बरेङ गाउँपालिकाभित्रका ७ विद्यालय छनोटमा परेका छन् । जिल्लाका १० पालिकाअन्तर्गत १४३ मध्ये गलकोटका १६, बागलुङ नगरपालिकाका १६, काठेखोला गाउँपालिकाका १२, जैमिनी नगरपालिकाका १२, बरेङ गाउँपालिकाका ७, ढोरपाटन नगरपालिकाका १९, निसीखोला गाउँपालिकाका २०, ताराखोला गाउँपालिकाका १२, तमानखोला गाउँपालिकाका ११ र बडिगाड गाउँपालिकाका १८ विद्यालय रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका प्रेस संयोजक विमल खड्काले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्