१९ असार २०८३, शुक्रबार

मकै बेचेर आयआर्जन गर्दै गैंडाकोटका महिला

मंसिर २४, २०७९
मकै बेचेर आयआर्जन गर्दै गैंडाकोटका महिला

मुख्य राजमार्ग भएर दिनहुँ हजारौं सवारी साधान हुँइकिन्छन् । पूर्वी नवलपरासी गैँडाकोटको थुम्सी, पूर्वपश्चिम राजमार्गको व्यस्त सडक पनि हो । जहाँ स्थानीयले राजमार्ग छेउमै मकै पोलेर बेच्न लहरै टहरा बनाएर बसेका छन् । 

गैँडाकोट आसपासका २५ घर परिवारले मकै बेचेर राम्रो आम्दानी गरिरहेका छन् । स्थानीय मिना जिसीका अनुसार उनको परिवारको जोहो गर्ने व्यवसाय मकै बनेको छ । स्थानीय उत्पादनको बजार प्रवर्धनमा पनि यसले सहयोग पुगेको उनको भनाइ छ ।

नारायणगढ–बुटवल सडक विस्तारको कामले व्यवसायमा केही समस्या पारेको भन्दै स्थनीय व्यापारी सावित्री शर्माले भनिन्, “सडक किनारमा मकै पोल्न थालेको चार वर्ष भयो, यसबाट भएको आम्दानीले घरको ऋण तिरेर सकाएँ । अबको कमाइले घर बनाउँछु ।” व्यवसायलाई व्यवस्थापन गर्न उनले स्थानीय सरकारसँग आग्रह गरिन् । 

घरको काम गर्दै मकै पोलेर आम्दानी गरेका महिलाले व्यवसायबाट राम्रो आम्दानी भएको बताउँछन् । अर्की स्थानीय मकै व्यापारी मनबुजा भुजेलले मकैले आफ्नो घरको समस्या समाधान गरेको बताइन् । यो व्यवसायमा स्थानीय २५ बढी घरधुरीको जीविकोपार्जन चलेकाले टहराको स्थायी व्यवस्थापनको माग उनले गरिन् । 

सडक विस्तारको कामले टहरा हटाइने पो हो कि भन्ने चिन्ता स्थानीय महिलालाई भएको छ । मकै पोल्ने र बिक्री गर्ने व्यवसायलाई व्यवस्थित गर्न ठाउँको अभाव भएको गैँडाकोट नगरपालिकाको पनि भनाइ छ ।

नगरप्रमुख मदनभक्त अधिकारीका अनुसार किसानले विकल्प लिएर आएमा व्यवस्थापनमा सहज हुने बताए । स्थानीयको रोजीरोटीका लागि आम्दानी भइरहेको व्यापारलाई हटाउने लक्ष्य नगरपालिकाको नभए पनि सडक विस्तारका क्रममा त्यसको व्यवस्थापन गर्न अनिवार्य रहेको उनले बताए ।

गैँडाकोटको वडा ६, ७ र ९ लाई मकैको पकेट क्षेत्रको रुपमा घोषणा गरिएको छ । बाह्रैमास यहाँ मकै उत्पादन हुन्छ । स्थानीय रुपमा मकै उत्पादन हुने भएपछि स्थानीय व्यापारीलाई व्यवसाय गर्न सहज भएको छ । गाउँका महिलाले राम्रो काम पनि पाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्