२९ जेठ २०८३, शुक्रबार

लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

मंसिर २४, २०७९
लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका –३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । “पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ” प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भने, “अब अन्य सानातिना काम बाँकी छन् ।” 

प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने काम बाँकी छ । त्यस्तै गार्ड हाउसको ढलान भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताए । त्यो काम पनि केही दिनमै सकिने उनको भनाइ छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्यले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेका छन् । विधुत जोड्ने काम पनि भएको छ । रङरोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने काम भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ उनले भने ।  

प्रदेशसभा भवन रु एक अर्ब २० करोड लगानीमा बन्दै छ । उक्त भवन वाइवी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन् । 

मुख्यमन्त्री आएपछि आवश्यक संरचना निर्माणको काम अघि बढेको छ । मुख्यमन्त्री कार्यालय, मुख्यमन्त्री र मुख्य सचिवको निवास निर्माणको काम पनि सकिएको छ । अब अन्य मन्त्रालयका लागि संरचना तयार गर्ने काम अघि बढिरहेको छ । आन्तरिक, मामिला कानुन तथा सञ्चार मन्त्रालय, अर्थ तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लागि सोही स्थानमै राख्ने गरी संरचना मर्मत गर्ने कार्य भइरहेको केसीले बताए । अन्य मन्त्रालयको संरचनाका लागि भवन खोज्ने काम भइरहेको राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले बताए । लुम्बिनी प्रदेशमा १३ वटा मन्त्रालय छन् । 

यसअघि ग्रामीण तथा शहरी विकास मन्त्रालय र स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालय भालुवाङमा आएका थिए । तर काम भने बुटवलबाट हुँदै आएको थियो । स्थायी राजधानी तोकिएपछि प्रदेशको स्थायी राजधानीलाई आवश्यक पर्ने संरचना निर्माण गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण गठन भई काम गर्दैआएको छ । अहिले राप्ती गाउँपालिका –३ लालमटियास्थित राप्ती प्राविधिक शिक्षालयलाई सरस्वती माविमा स्थान्तरण गरेपछि सोही स्थानमा मुख्यमन्त्री कार्यालय लगायत अन्य मन्त्रालयका लागि संरचना प्रयोगमा आएका छन् । 

विसं २०५० मा स्थापना भएको शिक्षालय १६  बिघा क्षेत्रफलमा फैलिएको छ । जहाँ अहिले तीन सय जना अटाउने एउटा सभाहल समेत छ । साना–ठूला गरेर ३५ वटा भवन रहेको राप्ती गाउँपालिका अध्यक्ष विष्टले बताए ।  

भालुवाङमै प्रदेश पूर्वाधार प्राधिकरणअन्तर्गत जग्गा एकीकरण आयोजनाको कार्यालय पनि खुलेको छ । विसं २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले दाङको राप्ती  गाउँपालिका, गढवा गाउँपालिका वडा १, २ र ३ तथा  अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा ८ र ९  लाई केन्द्र मानेर स्थायी राजधानी तोकेको थियो । रासस

salt training

कमेन्ट गर्नुहोस्