
प्रधानमन्त्री शेरबहादुर देउवाले मानव अधिकार, लोकतन्त्र र कानूनी शासनको पक्षमा सामुहिक रुपमा काम गर्न आवश्यक रहेको बताएका छन् । शनिवार ललितपुरमा राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेपालको संविधानले विश्वव्यापीरुपमा मानव अधिकारका आधारभूत मागहरूअन्तर्गतका सबै अधिकारहरुलाई मौलिक अधिकार हकको रुपमा प्रत्याभूत गरेको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले मौलिक हकको कार्यान्वयनका लागि आवश्यक कानून निर्माण भइसकेको भन्दै मानव अधिकारको संरक्षण, संवद्र्धन गर्ने दायित्व राज्यको भए पनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी भएको बताए । उनले प्रचलित कानूनको पालना र मानव अधिकारको सम्मान गर्न निजी क्षेत्र, प्राज्ञिक समाज, नागरिकहरु सबैको सहयोग आवश्यक रहेको बताए । उनले राष्ट्रिय मानव अधिकार आयोगको पेरिस सिद्धान्तअनुरुपको स्वतन्त्रता र स्वायत्ततालाई अघि बढाउन सरकार सदैव प्रतिवद्ध रहेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले सबै किसिमका दण्डहीनता अन्त्य गर्ने र मानव अधिकार उल्लंघनप्रति शून्य सहनशीलताको नीति नेपाल सरकारले लिएको बताए । उनले नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभूत गर्न मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको पनि बताए ।
प्रधानमन्त्री देउवाले सरकारले मानवअधिकार सम्बन्धी कानूनी संरचना व्यवस्थापनदेखि मानवअधिकार उल्लंघनका घटनाहरु कम गर्न आवश्यक काम गर्दै आइरहेको बताए । नेपालसहित विश्वभर शनिवार ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ ।