काठमाडौँ, ३० साउन- केही दिनदेखि सक्रिय मनसुन सोमबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरूले बताएका छन् । पूर्वी क्षेत्रमा शुक्रबार र शनिबार सक्रिय मनसुन आइतबारदेखि मध्य तथा पश्चिम भेगमा केन्द्रित भएको छ । मध्य भागको सिमरा, चितवन, नवलपरासी र भैरहवा तथा पश्चिमको दाङ, बर्दिया, बाँके र कञ्चनपुरलगायत क्षेत्रमा आइतबार भीषण पानी परेको छ ।

‘मनसुन आइतबारदेखि मध्य र पश्चिमी भागमा केन्द्रित भएकाले त्यस क्षेत्रका केही स्थानमा ठूलो वर्षा भएको हो,’ मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलले भने, ‘सोमबारदेखि मनसुन कमजोर बन्नेछ र केही दिनमै मौसममा सुधार हुनेछ ।’ तर पनि मनसुन अवधि अझै करिब डेढ महिना बाँकी भएको उनले बताए । नेपालमा असोज पहिलो साता (सेप्टेम्बर २३) सम्म मनसुन रहन्छ, कान्तिपुरमा खबर छ ।