
नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बङ्गलादेशको प्रमुख प्रतिपक्षी दलका करिब एक लाख समर्थक शनिबार ढाकामा भेला भएका छन् ।
विपक्षी बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसदबाट राजीनामा दिने घोषणा गरेका छन् । यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ । यद्यपि हसिनाको पार्टीसँग दुई तिहाइभन्दा बढी बहुमत थियो ।
पश्चिमा सरकार र संयुक्त राष्ट्रसङ्घले बङ्गलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन् ।
यो एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो तर युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेलको आयात स्थगित गर्न बाध्य बनाएको छ । बिजुली कटौती र ईन्धनको मूल्य वृद्धिले हालैका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन् ।
बङ्गलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्न आयातको लागत बढाएको छ र गरीब र निम्न मध्यम वर्गका मानिसहरूलाई असर पारेको छ ।
‘अटोरिक्सा’ चालक रसेल मियाँले खाद्यान्न र अन्य वस्तुको बढ्दो मूल्यवृद्धिप्रति आक्रोश व्यक्त गर्न ¥यालीमा सामेल भएको बताए। उनले मूल्यवृद्धिका कारण आफ्नो परिवारलाई नियमित छाक टार्न संघर्ष गर्नुपरेको बताए ।
बङ्गलादेशका आधा दर्जनभन्दा बढी टेलिभिजन समाचार च्यानलले उक्त विरोध प्रदर्शनलाई स्थान दिएनन् । यसो हुनुमा अधिकारीहरूले उनीहरूलाई त्यसो नगर्न दबाब दिएको आशङ्का आन्दोलनकारीले गरेका छन् ।
बिएनपीका एक अधिकारीका अनुसार मध्याह्नसम्ममा लाखौं मानिस ¥यालीमा सहभागी भएका थिए ।
प्रवक्ता जहिरुद्दिन स्वपनले एएफपीसँग भने “हाम्रो मुख्य माग शेख हसिनाको राजीनामा र संसद विघटन र तटस्थ कामचलाउ सरकार गठन गरी स्वतन्त्र र निष्पक्ष निर्वाचनको कदम चाल्नु हो ।”
नाम नबताउने शर्तमा एक वरिष्ठ सुरक्षा अधिकारीले ८० हजार मानिस आन्दोलनमा सरीक भएको आफुले अनुमान गरेका बताए ।
ढाका महानगरका प्रहरी प्रवक्ता फारुक अहमदका अनुसार अहिलेसम्म कुनै हिंसात्मक गतिविधि भएको छैन तर सुरक्षाकर्मीलाई सम्भावित हिंसा रोक्न तयारी अवस्थामा राखिएको छ ।
बिएनपीको मुख्यालयमा मङ्गलबार सुरक्षा फौजले आक्रमण गर्दा कम्तीमा एक जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि राजधानीमा तनाव बढेको थियो ।
हिंसा भड्काएको आरोपमा पार्टीका दुई शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने ¥यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब दुई हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ ।