पर्साको ठोरी गाँउपालिका ५ सुवर्णपुरमा सञ्चालनमा आएको होमस्टेले आन्तरिक तथा बाहय पर्यटकलाई आकर्षित गरेको देखिएको छ । सो गाउँको १५ वटा घरमा सञ्चालित होमस्टेमा महिनामा करिब एक सय ८० देखि दुई सयसम्म पर्यटक वास बस्नेगरेको सुनाखरी होमस्टे व्यवस्थापन समितिका अध्यक्ष शम्भुराम पौडेलले बताए ।
होमस्टेमा एक पटकमा ६० जना पाहुना राख्न सकिने क्षमता रहेको पौडेलको भनाइ छ । स्वदेशी मात्र नभई अहिले भारत लगायत अन्य देशका बिदेशी पर्यटक पनि होमस्टेमा बास बस्न आउनेगरेको उनले बताए ।
अमेरिकाको क्यालिफोर्निया राज्यका सानटा मोनिका निवासी थोर्नटनले सुवर्णपुरको सो होम स्टेको तीन दिनको बसाईमा निकै रमाइलो भएको प्रतिक्रिया दिए । शान्त वातावरण, हराभरा जंगल, स्थानीय खानाको परिकारको स्वादले आफूलाई लोभ्याएको उनको भनाइ छ ।
होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पौडेलले होमस्टेमा पाहुनाहरुका लागि अर्गानिक खाना तथा नास्ताको व्यवस्था गर्ने गरिएको जानकारी दिए । होमस्टेमा एक रातको प्रतिकोठा पाँच सय रुपियाँ भाडा लिने गरेको र खाना सस्तो भएको उनले बताए ।