
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसाविरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी छन् । आइतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्यूनीकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै उनले महिला हिंसा विरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी हुन् ।
अभियानको रूपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उनले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन् । मन्त्री रेग्मीले महिला हिंसा गाउँघरमा मात्रै नभई शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन् । उनले समाजलाई सचेत नगराई महिला हिंसाको अन्त्य नहुने बताइन् । उनले राजनीतिक दलहरुले पनि महिला हिंसा विरुद्ध अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।
‘जति पढेलेखेको भए पनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन । जान्ने, सुन्ने उच्च ओहोदा भएको ठाउँमा पनि हिंसा भएकै छ । हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन । सडकमा हिंसाविरुद्धको अभियानको रुपमा सडक नाटक होस् । अथवा ब्यानर, माइक लिएर बाजागाजा लिएर सडकको कामसम्म पु¥याउनुपर्ने अवस्था छ । कानून हुँदाहुँदै पनि अपराधीले हातमा कानून लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ’, मन्त्री रेग्मीले भनिन्, ‘समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । भाषण गर्दा मात्र भनेर पुग्दैन । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्यूनीकरण हुनसक्छ । समाज, राजनीतिक दल सबैलाई समेत गराऔँ ।’
मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताउँदै भनिन्, ‘महिला हिंसा महिलाको मात्रै समस्या होइन । त्यसरी बुझ्नु हुँदैन । महिला हिंसा भनेको मुलुकको समस्या हो । समाज, राजनीतिक दल सबैको समस्या हो । महिला हिंसाविरुद्धको अभियान भन्ने महिला–महिला भेला हुने, छलफल गर्ने, महिला हिंसा छ भन्ने । त्यसले परिणाम निकालेन । अब यसको मोडालिटीमा परिवर्तन गर्नुपर्छ । हिंसाको जरो घरभित्र छ । घरभित्र महिला सुरक्षित छैन । समाजमा महिला हिंसा छ । राजनीतिक दलमा महिला हिंसा छ । राज्यसत्तामा छ । कार्यस्थलमा छ । हर ठाउँमा महिला हिंसा छ ।’
मन्त्री रेग्मीले ९५ प्रतिशत घरमा कुनै न कुनै रूपमा महिला हिंसा हुने गरेको बताउनु भयो । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भए पनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनको भनाइ छ । उनले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिइन् ।