
सांसद दीपक खड्काले नेपाल स्काउटले पटक–पटक आफ्नो चरित्रहत्या गरेको भन्दै आपत्ति जनाएका छन् । आइतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिसँग आफ्नो कुनै सम्बन्ध नहुँदासमेत नेपाल स्काउटका तदर्थ समिति अध्यक्ष लोकबहादुर भण्डारीले पटक–पटक चरित्रहत्या गरेको भन्दै कानूनी उपचारको लागि अदालतमा मानहानीको मुद्दा हाल्ने बताए ।
उनले नेपाल स्काउटले लगाएको ‘खड्का ल्याण्ड डेभलपमेण्ट प्रालिसँग स्काउटको जग्गा भाडामा सम्झौता सकिँदासमेत सांसद दीपक खड्काले प्रहरी लगाएर हस्तक्षेप गरेको’ भन्ने आरोपको खण्डन गरे । उनले खड्का ल्याण्ड प्रालि कानूनी रूपमा वैधानिक तरिकाले सम्झौता भए बमोजिम भाडाबापतको रकम दिएर व्यवसाय सञ्चालन गरिरहेको बताए ।
उनले स्काउटका अध्यक्ष लोकबहादुर भण्डारीले संस्थालाई आँच आउने र आफ्नो चरित्रहत्या गर्ने काम भएको दाबी गरे । सांसद खड्काले स्काउट अध्यक्ष भण्डारीले पूर्वप्रधानमन्त्रीको नजिक, राष्ट्रपतिको नातेदार हौँ भन्दै मान्छे तर्साउने, धम्काउने गरेको भन्दै नेपाल स्काउटका मान्छे नभएर विचौलिया भएको आरोप लगाए ।
सांसद खड्काले भण्डारीले स्काउटलाई तहसनहस गर्दै राजनीतिक भर्ती गर्ने, गैरकानूनी कामहरू गर्ने र स्काउटको करोडौं रकम हिनामिना गरेकाले आफूहरूले भण्डारीविरुद्ध छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालय र अख्तियारमा निवेदन दिएको बताए । उनले भण्डारीले स्काउटको सम्पत्तिको सदुपयोग तथा दुरुपयोग भए÷नभएको मतलब नगरी आर्थिक लाभ लिनेगरी केही व्यापारीहरुसँग मिलेर स्काउटलाई कब्जा गर्न खोजेको आरोप लगाए ।
खड्काले अध्यक्ष भण्डारीले आफ्नो निर्वाचन क्षेत्र संखुवासभा पुगेर हराउन प्रयास गरेको दाबी पनि गरे । उनी हालै संखुवासभाबाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए ।