
लुम्बिनी प्रदेशसभामा ३५ समानुपातिक सीटमध्ये ३१ जना महिला छनोट भएका छन् । ८७ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य रहेकाले प्रत्यक्षतर्फ एक जना महिला मात्रै निर्वाचित भएको हुँदा समानुपातिकबाट ३१ महिला छान्नुपरेको हो । निर्वाचन आयोगमा दलहरूले शनिबार प्रदेश सांसदको सूची बुझाइसकेका छन् । प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रबाट कृष्णा केसी ‘नमूना’ ले बाँकेबाट चुनाव जितेकी छिन् ।
लुम्बिनीमा समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले २, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले १/१ गरी ३५ सीट प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभामा १० दलको प्रतिनिधित्व रहेको छ ।
यी हुन्, कांग्रेसका ९ जना महिला
नेपाली कांग्रेसले लुम्बिनी प्रदेशसभाका १० समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १७ क्षेत्र जितेको कांग्रेसले समानुपातिकतर्फ १० सांसद पाएको छ । जसमध्ये खस आर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) रहेका छन् ।
यस्तै जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) रहेका छन् । यसैगरी थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) रहेका छन । मधेशीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) र मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके) रहेका छन् ।
एमालेका ११ मध्ये १० महिला
प्रत्यक्षतर्फ १८ सीट जितेको एमालेले समानुपातिकमा ११ सिट पाएको छ । एमालेबाट खसआर्य महिलातर्फ जानकी न्यौपाने (रूपन्देही), वसन्ती न्यौपाने (बाँके) चयन भएका छन् ।
आदिवासी जनजाति महिलाबाट सरिता पुन, (रुकुम पूर्व) , यमुना रोका तामाङ (रोल्पा) चयन भएका छन् । त्यस्तै थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही), दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), यसैगरी रेखाकुमारी शर्मा (दाङ), मधेशीतर्फ शान्ति लोध (रुपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) रहेका छन् ।
माओवादी केन्द्रबाट २ महिला र २ पुरुष समानुपातिबाट सांसद बनेका छन । खस आर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची), जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व) थारूतर्फ कृष्णा थारू (बर्दिया) र दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) रहेका छन् । माओवादीबाट प्रत्यक्षमा एकजना महिलाले जीत निकालेकी छिन् ।
राष्ट्रिय जनमोर्चाबाट गुल्मीकी तारा थापा सिफारिश भएकी छिन् । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गुल्मी कालीगण्डकी गाउँपालिकाकी पूर्व उपाध्यक्ष थापा जनमोर्चाको लुम्बिनी प्रदेश समानुपातिक सांसद कोटाबाट प्रदेश सांसदमा सिफारिश भएकी हुन् । त्यस्तै जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया), नागरिक उन्मुक्ति पार्टीबाट निर्मला कुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके) रहेका छन् ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रुपन्देही), जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरूङ (रुपन्देही रहेका छन् । त्यस्तै लोसपाबाट हेमा बेल्वासे केसी, राप्रपाबाट मेनुका खाँण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ बाँके रहेका छन् ।
लुम्बिनीमा १० दलको सहभागिता
लुम्बिनी प्रदेशसभामा १० राजनीति दलको सहभागिता हुने भएको छन् । प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर एक/एक सिट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको हो । लुम्बिनीमा ३२ दलले चुनावमा भाग लिएका थिए । उहाँ स्वतन्त्रले ३ सीट जितेका छन् ।