११ साउन २०८३, सोमबार

प्रतिनिधि सभाको समानुपातिकतर्फ सबै दलको सूची ठीक, प्रदेश सभामा भने केही सच्याउनुपर्ने

मंसिर २५, २०७९
प्रतिनिधि सभाको समानुपातिकतर्फ सबै दलको सूची ठीक, प्रदेश सभामा भने केही सच्याउनुपर्ने

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीको बन्दसूचीको विवरण सच्याउन दलहरूलाई समय दिएको छ । आयोगले त्रुटि गरेर समानुपातिक उम्मेदवारहरुको नाम पठाउने राजनीतिक दलहरुलाई त्रुटि सच्याएर पुनः विवरण पठाउनका लागि भोलि (सोमवार) दिउँसो ४ बजेसम्मका लागि समय दिएको हो । 

यस सम्बन्धमा जानकारी दिँदै निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका प्रवक्ता गुरुप्रसाद वाग्लेले प्रतिनिधि सभाअन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको विवरणमा सच्याउनुपर्ने अवस्था नभएको बताए । केही राजनीतिक दलहरुले प्रदेश सभाका लागि पठाएको समानुपातिक उम्मेदवारको विवरणमा भने त्रुटि देखिएकाले सो विवरण सच्याएर आयोगमा पठाउनका लागि राजनीतिक दलहरुलाई पत्राचार गरिएको उनले जानकारी दिए । उनले आयोगले दलहरुबाट त्रुटि सच्याएको विवरण प्राप्त गरेपछि उम्मेदवारहरुलाई निर्वाचित भएको घोषणा गर्ने र प्रमाणपत्र वितरण गर्ने जानकारी दिए । 

‘प्रतिनिधि सभातर्फ पेश भएको बन्दसूचीको विवरणमा कुनै पनि सच्याउनुपर्ने अवस्था छैन । सबै दलले पेश गरेको विवरण ठीक छ । प्रदेश सभातर्फ केही राजनीतिक दलले पेश गरेको विवरणमा अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरिएको देखिएको छ । मुस्लिममा १ नम्बरमा सिफारिस नगरेर २ नम्बरको प्राथमिकता क्रममा रहेको व्यक्तिलाई सिफारिस गरिएको छ । अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूह तानेर सिफारिस गरिएको देखिन्छ । अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम लिइएको देखिन्छ । खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको देखिन्छ । ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरिएको छ’, वाग्लेले भने, ‘महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस भएको छ । खस आर्यको नाम सिफारिस हुनुपर्नेमा थारुको नाम सिफारिस भएको छ । खस आर्य महिलाको नाम सिफारिस गर्नुपर्नेमा सो बाहेक अन्यको नामावली सिफारिस गरिएको लगायतका त्रुटिगत विषयहरु देखिएका छन् ।’

वाग्लेले १४ वटा राजनीतिक दलहरुले समानुपातिक निर्वाचन प्रणाली तर्फबाट उम्मेदवार निर्वाचित गर्न पाउने गरी मत प्राप्त गरेको र सबैले शनिवार नै बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली पेश गरेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्