
प्रदेश १ प्रदेश सभामा लोपोन्मुख जातिको रूपमा सूचीकृत झाँगड जातिको पनि प्रतिनिधित्व हुने भएको छ । पहिलो कार्यकालमा भने झाँगड समुदायको प्रतिनिधित्व थिएन । समानुपातिक कोटाबाट झापाकी बन्दना झाँगड सांसद बन्ने भएकी हुन् । नेकपा माओवादी केन्द्रबाट समानुपातिक कोटाबाट बन्दना सांसद बन्न लागेकी हुन् ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने झाँगड महिलातर्फ सबैभन्दा कम उमेरकी बन्नेछिन् । उनी ३६ वर्षकी हुन् । पुरुषतर्फ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का ज्वाइँ जीवन आचार्य कम उमेरका हुन् । उनी पनि ३६ वर्षकै हुन् ।
सामान्य परिवारमा हुर्केकी बन्दनाको बाल्यकाल सामान्य बित्यो । उनी सानो छँदा माछा, घुँघी, गँगटा खोज्ने र विभिन्न परिकार बनाएर खाने तथा गुइँठा बनाउने घरायसी काम गर्थिन् । ‘म ७ वर्षको हुँदा आमा बित्नु भएकाले पढाइ भने सोचेअनुसारले अगाडि बढाउन पाइन’, उनले भनिन्, ‘बुबाले हामीले दुख पाउँछौँ भनेर अर्काे विवाह गर्नुभएन । घरको काममा पनि खट्नु पर्ने बाध्यता थियो ।’
जनयुद्धको बेला उनीहरूको घर माओवादीको सेल्टर थियो । उनीहरूकै घरमा बसेर झापामा आन्दोलन तथा संगठन निर्माणको योजना बन्थ्यो । एकान्तमा उनीहरूको घर भएकाले माओवादीका लागि संगठन निर्माण गर्न सहज थियो । छिमेकी रमेश सुवेदीलाई तत्कालीन साही नेपाली सेनाले मारेपछि बन्दनाको घर पनि निशानामा पर्यो । सेनाले घरमा आउने छापा मार्ने तथा अन्य प्रकारका दुःख दिएपछि २०६० सालदेखि बन्दना पूर्णकालीन कार्यकर्ता भएर जनयुद्धमा होमिइन् । बन्दना जनयुद्धमा होमिदा संगठन निर्माणको काममा खटिइन् । उनी महिला विभागमा बसेर संगठन निर्माणको काममा लागेकी थिइन् । जनयुद्धमा उनको कार्यक्षेत्र झापाको माइवारी थियो ।
जनयुद्धमा होमिदा उनी कक्षा ८ मा पढ्दै थिइन् । शान्ति सम्झौतापछि उनले एसएलसी पास गरेकी हुन् । उनी अहिले कक्षा १२ मा पढिरहेकी छन् ।
२०७० सालमा प्रतिनिधि सभा र ०७४ मा प्रदेश सभामा बन्दसूचीमै नाम परे पनि उनी सांसदका रुपमा छानिइनन् । यसपटक भने उनी सांसद बन्ने पक्का भएको छ । माओवादी केन्द्रले निर्वाचन आयोगलाई बुझाएको बन्दसूचीको सिफारिसमा उनको नाम छ ।
झाँगड समुदायको आर्थिक तथा शैक्षिक अवस्था सुधार्न आफूले भूमिका खेल्ने उनले बताइन् । ‘शैक्षिक अवस्था पहिलाको भन्दा केही माथि उठेको जस्तो देखिन्छ । मास्टर डिग्री सक्ने युवाहरू पनि भेटिन थालेका छन् । तर, माथिल्लो तह सम्म पुग्न अझै पनि पहुँच पुग्न सकेको छैन । शिक्षाको उज्यालो घाम बाट बञ्चित भएकाहरूलाई निःशुल्क शिक्षामा जोड दिन्छु’, उनले भनिन् ।
झाँगड समुदायका बीचमा गएर शैक्षिक तथा आर्थिक अवस्था सुधारका लागि सरकार तथा सदनमा कडा रूपमा आवाज उठाउने बन्दनाले बताइन् ।