पछिल्लो समय नेपालमा रैथाने बाली लोप हुने अवस्थामा पुग्न थालेको छ । कोदोखेती विस्तारै घट्दै गएपछि कृषि ज्ञान केन्द्र बाग्लुङले समेत रैथाने बाली संरक्षण अभियान चलाएको छ । बागलुङका किसानले भर्खरै मात्र कोदो थन्काएका छन् । पछिल्लो समय भने कोदोको परिचय बदलिएको छ ।
गाउँघरको मुख्य खानाको परिकारका रुपमा रहेको कोदो पछिल्लो समय शहरको आकर्षक खानाको परिकारमा परेको छ । अहिले गाउँमा भन्दा शहरका रेष्टुराँ र होटलमा कोदोको परिकार पाक्ने गरेको छ । निकै झन्झटिलो बालीका रुपमा रहेको कोदोको महत्व पछिल्लो समय बढ्दै गएको पाइन्छ । कुनै दिन गरिबको खानाको रुपमा चिनिएको कोदोको ढिडो अहिले ठूला होटल र घरबासमा समेत रुचाइएको परिकार बनेको छ ।
आयातित चामलले कृषिमा झन्झटिलो बालीका रुपमा रहेको कोदो विस्तारै लोप हुने अवस्थामा पुगे पनि पछिल्लो समय कोदोको परिकारप्रति नागरिक जागरुक देखिन थालेका छन् । कोदोको ढिडो, रोटीलगायतका परिकार बनाएर खाने गरिएको छ भने बागलुङका घरबासले कोदोको सेलरोटीलाई प्रमुख आकर्षक खानाका रुपमा प्रस्तुत गरिरहेका छन् ।
बागलुङका घरबास (होम–स्टे)को आकर्षणसमेत कोदोको परिकार बन्न थालेको छ । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित सामुदायिक घरबास बेलढुङ्गा सामुदायिक घरबास, जैमिनीको मरुनी घरबास र भकुण्डेको अतिथि सत्कार घरबासमा कोदोको सेलरोटी आकर्षक परिकारमध्ये पर्दै आएको भकुण्डेस्थित अतिथि सत्कार घरबासका सञ्चालक इन्द्रकुमारी थापाले बताए ।
“चिसो याममा कोदोको ढिडो निकै रुचाइएको परिकारमध्ये पर्दछ, लोकल कुखुराको मासुसँग ढिडो खाने धेरै हुन्छन्” उनले भने, “पाहुनाले ढिडो रुचाउन थालेपछि घरको कोदोले नपुगेमा खरिद गरेरसमेत ल्याइन्छ, पहिला चामलको भात नै बढी रुचाइएको थियो पछिल्लो समय स्वास्थ्यका लागिसमेत कोदोले फाइदा गर्ने भएपछि कोदोको महत्व बढ्यो ।”
पहाडी जिल्लाको रुपमा रहेको बागलुङमा सिँचाइ सुविधा नभएका अधिकांश स्थानमा कोदो खेती गरिन्छ । तर, विस्तारै कोदोको महत्व बढ्दै गएपछि किसानले समेत महत्वका साथ खेती गर्दै आएका छन् । बागलुङ नगरपालिकाको सिगाना, काठेखोला गाउँपालिकाको भिमापोखरा, ढोरपाटन, बडिगाड, निसीखोला, तमानखोला, जैमिनी र बरेङलगायतको क्षेत्रमा बढी मात्रमा कोदो खेती हुने गरेको छ । रासस