
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सोमवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । आइतवार एमाले अध्यक्ष केपी ओलीलाई भेटेका केसीले सोमवार अर्का कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
सिंहदरबारमा प्रचण्डसँग भएको भेटमा बधाइ साटासाट भएको केसीको सचिवालयले जानकारी दिएको छ । भेटमा दुई नेताबीच सरकार गठन, निर्वाचन परिणाम र संसदको अंकगणितीय उपस्थितिको समीक्षा भएको थियो । त्यस्तै केसीले बालाजु बाईपास–ककनी–रानिपैवा–त्रिशुली, अस्तव्यस्त रूपमा रहेको पुरानो पासाङ ल्हामु राजमार्ग छिटोभन्दा छिटो बनाउन पहल गर्न प्रचण्डलाई आग्रह गरेका थिए ।
दुई नेताबीच कृषिप्रधान मुलुकमा रहेको रासायनिक मल र कृषि बिउबिजनमा कृषकले भोग्नु परेको विकराल समस्यालाई मध्यनजर गरेर छिटोभन्दा छिटो समस्या समाधान गर्ने, जनजीविकाका सवालमा निर्वाचनको बेला जनस्तरबाट उठेका आवाजहरू सामूहिक रुपमा समाधान गर्ने प्रतिबद्वताका विषय, अर्थतन्त्र सुधारको सन्दर्भमा गठबन्धन दलहरूबीच साझा अवधाधारणा तय गर्नेलगायतका विषयमा कुराकानी भएको थियो ।
नेता केसीले प्रचण्डलाई अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्षको एउटै आवाज हुनुपर्ने विषयमा ध्यानाकर्षण गराएका थिए ।