१२ साउन २०८३, मंगलबार

बागमतीमा बनेन् नयाँ प्रदेश सभा भवनः पुरानैमा स्वागतको तयारी

मंसिर २६, २०७९
बागमतीमा बनेन् नयाँ प्रदेश सभा भवनः पुरानैमा स्वागतको तयारी

बागमतीको प्रदेश सभा भवन समयमा निर्माण सम्पन्न नहुँदा पुरानै भवनमा नयाँ प्रदेश सभा सदस्यहरूको बैठक बस्नुपर्ने भएको छ । २०७७ मंसिर १० गते प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठले नयाँ प्रदेश सभा भवनको शिलान्यास गरेका थिए । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले २०७९ को वैशाख १ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी अर्घाखाँची÷सगुन पारामाउन्ट जेभीसँग भवन निर्माण सम्झौता गरेको थियो । तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि पुनः आगामी जेठ मसन्तसम्मको लागि म्याद थपिएको छ । 

यस अघि पनि तत्कालीन शिक्षा निर्देशनालयको साँघुरो भवनमा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो । प्रदेशको नीति निर्माण गर्ने थलोको रुपमा रहेको प्रदेश सभा हल अस्तव्यस्त रूपमा रहेको छ । अघिल्लो ५ वर्षे प्रदेश सभाको अवधिमा प्रदेशमा ३ जना मुख्यमन्त्री फेरिए पनि प्रदेश सभा भवनको रूप भने फेरिन सकेन । 

प्रदेश सभा भवन निर्माणका लागि हालसम्म ३ करोड ३ लाख  ९७ हजार रुपैयाँ खर्च भइसकेको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका कार्यालय प्रमुख घनश्याम श्रेष्ठले बताए । ८० प्रतिशत काम सम्मन्न भइसकेको भए पनि एयरकन्डिसनर (एसी) उपकरणहरू बाहिरबाट ल्याउनु पर्ने भएकोले निर्माण कार्यमा ढिलाइ भएको श्रेष्ठले बताए ।

उता नयाँ प्रदेश सभा भवन समयमा निर्माण नहुँदा प्रदेश सभा सचिवालयले भने पुरानै भवन मर्मतसम्भारको काम गरिरहेको छ । सचिवालयले प्रदेश सभाको मूल गेटदेखि सभामुख, उपसभामुखको कार्यकक्ष, सत्ता पक्ष र प्रतिपक्षको लागि सिट व्यवस्थापनका साथै रंगरोगन लगाएर आकर्षण बनाउने कार्य गर्दा प्रदेशमा दोहोरो खर्चसमेत बढेको छ । हालसम्म उक्त कार्यका ७ लाख रुपैयाँ खर्च गरेकोे प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । बागमती प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित १ सय १० प्रदेश सभा सदस्यहरूको प्रतिनिधित्व रहने छ ।


 

salt training

कमेन्ट गर्नुहोस्