भारतका उद्योगी गौतम अडानी सन् २०२३ मा विश्वको सबैभन्दा धनी व्यक्ति बन्न सक्ने आँकलन गरिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनको आम्दानीमा निरन्तर बढोत्तरी कायम रहेकाले सो सफलता हासिल हुनसक्ने आँकलन गरिएको छ ।
ब्लुमवर्ग विलिनियर इन्डेक्सका अनुसार विश्वाका टप टेन (दश धनी) व्यक्तिमा अडानी ग्रुपका अध्यक्ष गौतम अडानी मात्र यस्तो व्यक्ति हुन् जसको आम्दानी घटेको छैन । उनको सम्पत्तिमा यो वर्ष अहिलेसम्म ४९ अरव डलर बढेको छ । अडानीको कम्पनीको आर्थिक शेयरमा यसैगरी बढोत्तरी हुँदैगयो भने उनी आउने वर्ष २०२३ सालमा विश्वका सबैभन्दा धनी व्यक्तिमा नाम दर्ज गराउन सक्ने आँकलन गरिएको छ ।
पछिल्लो एक दशकमा विश्वका अमिर अरवपतिको सूचीमा धेरैको नाम आएको छ । टप सयको सूचीमा पनि नयाँ अनुहार प्रवेश पाएका छन् । सन् २०१८ देखि २०२१ सम्म जेफ बेजोस विश्वका सबैभन्दा धनी व्यक्ति थिए । अहिले ट्वीटरका मालिक एलन मस्क विश्वका सबैभन्दा धनी व्यक्तिमा आफ्नो नाम दर्ज गरिरहेका छन् ।
सन् २०२० मा बेजोस २०० विलियन डलर सम्पत्ति हासिल गरेका थिए । अहिले उनको आम्दानीमा गिरावट आएको बताइएको छ । उनको सम्पत्तिमा अहिलेसम्म ९५ दशमलब १ अरब डलर घटेको छ ।