
जिल्ला अस्पताल खोटाङमा सञ्चालित एक्स–रे सेवा बन्द भएको छ । सेवा बन्द हुँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालमा कार्यरत दुई जना रेडियोग्राफरमध्ये एक बुवाको उपचारका लागि भारत गएको र अर्का रेडियोग्राफर पारिवारिक समस्याका कारणले बिदामा बसेपछि एक्स–रे सेवा बन्द गरेको हो ।
अस्पतालमा कार्यरत ती कर्मचारी नभएपछि आइतबारदेखि मङ्सिर २९ गतेसम्मका लागि एक्स–रे सेवा बन्द गरिएको अस्पतालका निमित्त प्रमुख डा. चतुरानन्द यादवले बताए । “अस्पतालमा दैनिक सरदर ६० जनाको एक्स–रे हुने गरेको छ”, उनले भने, “अस्पतालमा कार्यरत दुवै जना रेडियोग्राफर बिदामा बसेपछि सूचना प्रकाशन गरेर एक्स–रे सेवा बन्द गरिएको हो ।”
जिल्लाको एकमात्र सरकारी अस्पतालको एक्स–रे सेवा बन्द भएपछि एक्स–रे गर्न आएका बिरामी अन्यत्र जान बाध्य भएका छन् । एक्स–रे गर्न जिल्ला अस्पताल पुग्दा पुस १ गते आउन भनेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङका कम्पसेर राईले बताउनुभयो ।
एक्स–रेकै कारण कतिपय बिरामी दिक्तेलकै फेमिली केयर अस्पतालमा गइरहेका छन् । बाहिर गएर एक्स–रे गर्दा निजी अस्पतालहरूले महँगो शुल्क लिने गरेको सेवाग्राहीको गुनासो छ ।
वैकल्पिक व्यवस्थाका लागि केही रेडियोग्राफरलाई बोलाएको भए पनि जिल्ला अस्पतालको एक्स–रे मेसिन चलाउन नजानेको अस्पतालका निमित्त प्रमुख डा यादवले बताए । “एक्स–रे सेवालाई नियमित गराउन पहल भइरहेको छ”, उनले भने, “सम्भवतः चाँडै सञ्चालनमा आउनेछ ।”
जिल्ला अस्पतालको एक्स–रे सेवा बन्द भएको जनगुनासो आएपछि सोमबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र उपप्रमुख विशन राईको टोलीले जिल्ला अस्पताल पुगेर समस्याका बारेमा जानकारी लिएको छ । अस्पतलमा देखिएको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख भट्टराईले बताए । रासस