०३ साउन २०८३, आइतबार

सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

मंसिर २७, २०७९
सरसर्ती २४ घण्टा : देशभर कहाँ के भए ?

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । मृतकमा एकै वडाका आठ जना रहेका छन् । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र  अम्मर खड्का रहेका छन् ।

त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी,  नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक सन्तोष निरौलाले बताए ।
सोमबार कर्णाली प्रदेश२००१च ०४२९ नंको निजी जिप छेडागाड –३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेको थियो ।
००००
जन्मकैदको सजाय भोगिरेहका रेशम चौधरीलाई आममाफी दिनेगरी अध्यादेश ल्याउने निर्णय गरेपछि सरकारको नेतृत्व गरिरहेको कांग्रेसकै शीर्ष नेताहरूले विरोध गरिरहेका छन् । 
चुनावबाट फ्रेस म्याण्डेडसहितको संसद् आउनै लागेको बेला काम चलाउको हैसियतमा रहेको सरकारले दीर्घकालीन महत्वको विषयमा अध्यादेश जारी गर्ने निर्णय गर्नु असंवैधानिक र संसदीय व्यवस्थाको मर्मविपरीत भएका कांग्रेस नेताहरूले बताएका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला, महामन्त्री गगन थापा, नेताहरु अर्जुननरसिंह केसी, प्रदीप पौडेललगायतले विरोध गरेका हुन् । 
००००
नेकपा एमालेले पनि चौधरी लगायतलाई उन्मुक्ति दिनेगरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ । सो पार्टीका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका चौधरीसहितका नेता, कार्यकर्ताको रिहाइ गर्नेगरी सरकारले ल्याएको अध्यादेश गलत रहेको प्रतिक्रिया दिए ।

रिमालले ‘संविधानको रक्षा गर्छौं’ भनेर चुनावी नारा घन्काएको गठबन्धन सरकारले संविधानको भावनामाथि नै असर पार्ने गरी यस्तो अध्यादेश ल्याउन खोज्नु आफैंमा गलत भएको बताए । उनले एमालेले त्यसको सशक्त विरोध गर्ने समेत स्पष्ट पारे ।
००००
सरकारले मुलुकलाई आन्तरिक एकताका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याउनु परेको बताएको छ । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक समूहलाई मूलधारमा ल्याउनका लागि आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका नेता, कार्यकर्तालाई रिहाई गर्नेगरी अध्यादेश ल्याएको प्रष्ट पारेका हुन् । 
सोमवार मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले मुलुकलाई आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका राखी अध्यादेश ल्याइएको बताए ।
००००
यसैबीच चौधरीलाई रिहा गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ ।  सरकारले पठाएको अध्यादेश राष्ट्रपति कार्यालयमा आइपुगेको र राष्ट्रपति विद्यादेवी भण्डारी अध्ययनमा रहेको राष्ट्रपति कार्यालयका एक अधिकारीले जानकारी दिए ।
००००
निर्वाचन आयोगले गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा ५.०६ प्रतिशत मत बदर भएको बताएको छ । निर्वाचन आयोगका उपसचिव कमल भट्टराईले यस पटकको निर्वाचनमा कुल खसेको मतको ५.०६ प्रतिशत मत बदर भएको जानकारी दिए । उनले प्रदेश सभाको समानुपातिक तर्फको मत सबैभन्दा बढी बदर भएको बताए ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस प्रदेशसभामा समानुपातिकतर्फ प्रतिनिधित्व हुने सदस्यको टुङ्गो लगाएको छ । पार्टीको कार्यकारिणी समितिको आजको बैठकले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात जनाको नाम सिफारिस गरेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।
००००
निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी जारी गरेको निर्वाचन आचारसंहिता हटाएको छ । आयोगले मंसिर २६ गतेदेखि आचारसंहिता हटाएको जानकारी दिएको हो ।
००००
झापाबाट प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बनेका एक सय ९२ उम्मेदवारमध्ये ८४ जनाले मात्र आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म चुनावी खर्च विवरण बुझाउनेमा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनी विजयी बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओेलीसहित विभिन्न राजनीतिक दल र स्वतन्त्रका गरी ८४ जनाले खर्च विवरण बुझाएका हुन् ।
००००
काठमाडौंमा दिउँसोभन्दा बिहान र बेलुका चिसो बढेको छ । सोमवार यहाँको न्यूनतम तापक्रम पाँच दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम भएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् ।
००००
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले प्रादेशिक संरचनाका आधारमा सुन वितरणको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वको टोलीले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसँग भेट गरी सङ्घीय सरचनाअनुरुप हुनेगरी सुन वितरणको कार्यविधि संशोधन गर्न आग्रह गरेको हो ।

००००
साताको दोस्रो कारोबारको दिन सोमवार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सोमवार नेप्से परिसूचक चक १६.९५ अंकले बढेर १९०२.२७ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ५.५७ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.०४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२९ अंकले बढेको छ ।

salt training

कमेन्ट गर्नुहोस्