
मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनबाट निर्वाचित भएका प्रदेश १ सभाका सदस्यहरूलाई नेपाली कांग्रेसका गयानन्द मण्डलले शपथ गराउने भएका छन् । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित सांसद र ३७ जना समानुपातिकबाट निर्वाचित भएकामध्ये उनी जेष्ठ सदस्य हुन् । जेष्ठ सदस्यले पहिले प्रदेश प्रमुखबाट सपथ ग्रहण गर्ने र उनले अन्य प्रदेश सभा सदस्यलाई शपथ गराउने संवैधानिक व्यवस्था छ ।
निर्वाचन आयोगमा उम्मेदवारहरूले बुझाएको विवरणअनुसार मण्डल ७९ वर्षका हुन् । आयोगमा बुझाएको विवरणमा उनी सबैभन्दा जेष्ठ सदस्य निर्वाचित भएको देखिएको प्रदेश निर्वाचन कार्यालयले जानकारी दिएको छ ।
प्रदेश सभा सदस्यको अन्तिम नामावली तय भएपछि निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बुझाउने छ । उक्त नाम राष्ट्रपति कार्यालयले प्रदेश प्रमुखको कार्यालयमा पठाउने छ । प्रदेश प्रमुखको कार्यालयबाट संसद् सचिवालयमा नाम आएपछि औपचारिक रूपमा ज्येष्ठ सदस्य पहिचान गरिने संसद् सचिवालय प्रदेश १ का सचिव गोपालप्रसाद पराजुलीले बताए ।
सांसदहरूको उमेरसहितको व्यक्तिगत विवरण पनि समावेश गरेर प्रदेश प्रमुखको कार्यालयमा नाम पठाइने छ । जेष्ठ सदस्यले प्रदेश प्रमुखसँग शपथ लिनुपर्ने हुन्छ । सचिव पराजुलीका अनुसार संसद् सचिवालयले ज्येष्ठ सदस्य पहिचान गरेर प्रदेश प्रमुखको अनुकूल समय मिलाएर शपथ गराउने छ । प्रदेश प्रमुखकहाँ शपथ ग्रहणपछि जेष्ठ सदस्यले अन्य सदस्यलाई शपथ ग्रहण गराउनेछन् ।
जेष्ठ सदस्यको रूपमा मण्डलले प्रदेश सभा सदस्यहरूलाई शपथ गराउनुका साथै सभामुख चयन नहुँदासम्म प्रतिनिधि सभा बैठकको नेतृत्व गर्ने अवसरसमेत प्राप्त गर्नेछन् । त्यसपछि मात्रै सभामुख, विषयगत समितिका सभापति चयन तथा कार्यपरामर्श समिति चयन प्रक्रिया आरम्भ हुनेछ ।