
काठमाडौं, ३० साउन — भारत अवैध रूपमा चिनियाँ भूमिमा प्रवेश गरेको र उसले केही पनि हासिल नगर्ने चीनले बताएको छ ।

गलत आँकलन गरेर अर्काको भूमिमा पसेकाले भारतले लज्जास्पद स्थिति बेहोर्नुपर्ने समेत उसले बतायो ।
दुई महिनादेखि डोक्लाम पठारमा भारत र चीनका सैनिकहरू आमनेसामने छन् ।
चीनका अनुसार भारतीय सेना फर्किएपछि मात्र दुई देशबीच वार्ता हुन्छ । तर भारत चाहिँ दुवै देशका सैनिक फर्किए मात्र वार्ता हुने बताइरहेको छ ।
चीनको सरकारी पत्रिका पिपुल्स डेलीले वुहान विश्वविद्यालयमा चाइना इन्स्टिच्युट अफ बाउन्ड्री एन्ड ओसन स्टडिजका प्राध्यापक गसआन पीफेङको भनाइ उद्धृत गरेको छ । उनले भने, ‘भारत र चीनबीच समयसमयमा तनाव हुने गर्छ । तर अहिलेको तनाव फरक किसिमको छ । अहिले त भारतीय सेना चीनको भूमिमा घुसेका छन् ।’
उनले थपे, ‘चीनको आर्थिक शक्ति बढी छ । उसले सजिलै हतियार बिसाउँदैन । त्यसैले सीमामा तनाव कायम रहन्छ । चीन प्रतिकूल परिस्थितिको सामना गर्न तयार छ ।’
भारतले चीनसँग जोडिएको सिक्किम र अरुणाचल प्रदेशको १४ सय किलोमिटर लामो सीमामा सैनिक तैनाथी बढाएको छ । भारतीय सरकारका अनुसार देशको पूर्वी सीमामा सेनाको अलर्ट लेभल बढाइएको छ । कति सैनिक उक्त क्षेत्रमा खटाइएको भनी खुलाइएको छैन ।
एजेन्सी