
जापानमा युवा पुस्ताको संख्या लगातार घटिरहेकाले त्यहाँको सरकारले लामो समयदेखि चिन्ता व्यक्त गर्दै आएको छ ।
सरकारले मानिसहरूलाई सन्तान उत्पादन गर्नका लागि प्रेरणा दिन सबै किसिमका कार्यक्रम ल्याएको छ ।
जापान टुडे पत्रिकाका अनुसार, सरकारले बच्चा जन्माउनका लागि दिइने सहयोग राशि बढाउने भएको छ ।
स्वास्थ्यमन्त्री काचुनोबु कातोले प्रधानमन्त्री फुमिओ किशिदासँग भेटेर सहयोग राशि थप ७६ हजार रुपैयाँ बढाउन प्रस्ताव गरेका हुन् । थपिएको राशि जोड्दा लगभग ६ लाख रुपैयाँ हुन पुग्छ । सन् २०२३ देखि नयाँ पुरस्कार राशि लागू गरिनेछ ।
सरकारको आँकडाअनुसार, सन् २०२१ मा जापानको इतिहासमै सबभन्दा कम बच्चा जन्मेका थिए । घट्दो जनसंख्याको डरलाई त्यस आँकडाले थप बढाएको छ ।
रोयटर्स समाचार संस्थाको रिपोर्टमा उल्लेख भएअनुसार, सन् २०२१ मा ८ लाख ११ हजार ६०४ बच्चा जन्मेकोमा मृत्यु हुने व्यक्तिको संख्या १४ लाखभन्दा बढी थियो ।
जापान सरकारले घरजम गर्न इच्छुक जोडीलाई ६ लाख येन दिने घोषणा गरेको छ । मानिसहरूले विवाह गरेर छिटो बच्चा जन्माऊन् र घट्दो जन्मदरमा नियन्त्रण कायम गर्न सकियोस् भन्ने सरकारको सोच हो ।