
केही वर्षअघिसम्म सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीलाई हेयको दृष्टिले हेर्ने गरिन्थ्यो । सामुदायिक विद्यालय गरिब, विपन्न र पिछडा वर्गका बालबालिकामात्र अध्ययन गर्ने थलो हो भन्ने आम सर्वसाधारणमा सोच थियो । तर अध्ययन–अध्यापनको क्षेत्रमा मेहेनत र परिश्रमका कारण कतिपय सामुदायिक विद्यालयले नाम चलेका संस्थागत विद्यालयलाई पनि गुणस्तरीय शिक्षाको सवालमा पछाडि धकेलेका छन् ।
विराटनगर –३ स्थित पोखरिया माध्यमिक विद्यालयले सामुदायिक विद्यालयप्रति सर्वसाधारणको नकारात्मक सोचलाई चिरेको छ । गुणस्तरीय शिक्षा, अब्बल अतिरिक्त क्रियाकलाप र अनुशासनका कारण पोखरियाले सामुदायिक विद्यालय भइकन पनि उत्कृष्ट प्रदर्शन गर्दै आएको छ ।
चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा ५३ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा मोरङ जिल्लाका सामुदायिक विद्यालयमध्ये शैक्षिक वर्ष २०७५ मा उत्कृष्ट कार्यसम्पादन गरेवापत रु दुई लाख नगदसहित विद्यालयलाई पुरस्कृत गरिएको थियो । सो पुरस्कार प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयले प्रदान गरेको थियो ।
विद्यालयमा अभिभावक आफ्ना बालबालिकालाई भर्ना गराउन तछाडमछाड गर्नेगरेका छन् । विद्यार्थी भर्नाका लागि सङ्घीय मन्त्रीदेखि प्रदेश १ का उच्चपदस्थ पदाधिकारीसम्मको सिफारिस विद्यालयका प्रधानाध्यापकदेखि शिक्षकसम्मलाई आउनेगरेको छ । विद्यार्थीलाई उत्कृष्ट सिकाइका लागि प्रेरित गर्न पोखरियाले बेला–बेलामा सम्मानको कार्यक्रम आयोजना गर्नेगरेको छ ।
विद्यालयमा कक्षा १२ सम्मको अध्ययन पूरा गरी देशका विभिन्न इञ्जीनियरिङ अध्ययन संस्थाको प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको छ । त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयद्वारा लिइएको इञ्जीनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षा र छात्रवृत्तिमा नाम निकाल्न सफल हुने विद्यार्थीलाई सम्मान गरिएको हो ।
विद्यालयले बिहीबार आयोजना गरेको बधाई, सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा १० विद्यार्थीलाई सम्मान गरियो । प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकालेर प्रशंसापत्र एवं नगदबाट सम्मानित हुनेमा प्रज्ञा गेलाल, राजेशकुमार गुप्ता, नवीन पोखरेल, प्रज्ञान घिमिरे, क्षितिज खनाल, निकिता कर्ण, पङ्कज मण्डल, प्रज्ज्वल अधिकारी, आयुष लिम्बू र प्रज्ञान कोइराला छन् ।
विद्यार्थीलाई शिक्षा विकास तथा समन्वय एकाइ मोरङ प्रमुख टङ्कप्रसाद गौतम, विराटनगर महानगरपालिकाअन्तर्गतको नगर शिक्षा समितिका शाखा अधिकृत कृष्णप्रसाद भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद गौतम, विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराईलगायतले प्रवेश परीक्षा एवं छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीलाई प्रशंसापत्र र नगद हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एकाइ प्रमुख गौतमले नाम निकाल्न सफल विद्यार्थी अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बन्ने बताए । शाखा अधिकृत भट्टराईले शिक्षासँगै चरित्र निर्माण पनि महत्वपूर्ण रहेको बताए । व्यवस्थापन समितिका अध्यक्ष गौतमले मेहनेत गरेर अध्ययन गरी देश सेवामा योगदान गर्नुपर्ने दायित्व अबको पुस्तामा आएको बताए । प्रधानाध्यापक भट्टराईले विद्यार्थीको प्रतिभा पहिचान गरी प्रस्फुटन गर्ने काम विद्यालयले गर्दैआएको दाबी गरे । गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा विद्यालयले कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।
सम्मानित विद्यार्थी गेलालले जस्तोसुकै अवस्थामा शिक्षालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए । भविष्यमा के बन्ने भनेर लक्ष्य किटान गरी गरिएको अध्ययनले साथर्कता पाउने उनको बुझाइ छ । अर्का सम्मानित विद्यार्थी प्रज्ञान घिमिरेले आफूले नियमित चार घण्टा अध्ययन गर्ने गरेको बताए परीक्षा तयारीको बेला दिनभरिजसो नै पठनपाठनमा बिताउने गरेको उनले बताए । घिमिरेले पुनः अभ्यास निरन्तर गरेमा परीक्षामा नाम निकाल्न गाह्रो नहुने बताए । विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म तीन हजार दुई सय ६३ विद्यार्थी र प्राविधिक धारतर्फ एक सय ९२ विद्यार्थी अध्ययनरत छन् । रासस