
नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास ‘एक्स सूर्यकिरण १६’ शुक्रवारदेखि शुरु भएको छ । रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कूलमा मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी यामप्रसाद ढकालले उक्त तालिमको उद्घाटन गरेका छन् ।
विपद् व्यवस्थापनको समयमा उद्दार र स्वास्थ्य उपचार लगायत प्रतिविद्रोह तथा प्रतिआतंकवाद जस्ता विषय समावेश गरी सञ्चालन भएको उक्त संयुक्त अभ्यासको यो १६औँ संस्करण हो । नेपाली सेनाबाट प्रमुख सेनानी विमलकुमार वाग्लेको नेतृत्वमा ३३४ जना र भारतीय सेनाबाट कर्णेल हिमांशु बाहुगुनाको नेतृत्वमा ३३४ जना सहभागी गराई सञ्चालन भएको उक्त संयुक्त अभ्यास आगामी पुस १४ गतेसम्म सञ्चालन हुने छ ।
यसअघि नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास सूर्य–किरणको पन्ध्रौँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो । २०६७ सालबाट नेपाल र भारतमा वार्षिक रुपमा आलोपालो गरी सञ्चालन हुँदै आएको यस संयुक्त अभ्यास हालसम्म दुवै देशमा गरी १५ पटक सफलतापूर्वक सञ्चालन भइसकेको छ ।
संयुक्त अभ्यासमा फौजहरुले प्रतिव्रिदोह तथा प्रतिआतंकवादलगायत जंगलमा गर्नुपर्ने युद्धकला र विपद् व्यवस्थापन सम्बन्धी सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा अभ्यास गर्ने छन् । यस अभ्यासमा नेपाली सेना र भारतीय सेनाको सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान–प्रदान हुनेछ । यस किसिमको सैनिक अभ्यासले दुई देश बीच सदियौँदेखि रहेको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने तथा दुवै देशका सेनाहरु बीच आपसी समझदारीमा अभिवृद्धि हुने विश्वास लिएको नेपाली सेनाले जनाएको छ ।