
नेपाली दूतावास अमेरिकाको कन्सुलर शिविर बिहीवारबाट शुरु भएको छ । नेपाललक्षित विविध महत्वपूर्ण विषय सम्बद्ध दूतावासको कन्सुलर शिविर टेक्ससका मुख्य शहरहरुमा शुरु भएको हो ।
राहदानी नवीकरण, गैर आवासीय नेपाली परिचय पत्र र विद्युतीय रहदानी विषयमाथि महत्वपूर्ण सेवा विषयक परामर्शसहितको सेवा प्रदान गरिने कन्सुलर शिविर ६ दिन सम्म अर्थात डिसेम्बर २० तारिखसम्म सञ्चालन हुने छ । टेक्ससका नेपाली बाहुल्यता भएका मुख्य क्षेत्रहरू अभिङ, अस्टिन र ह्युस्टनमामा शिविर सञ्चालन हुने बताइएको छ ।
जसअन्तर्गत डिसेम्बर १५, १६ र १७ तारिकका दिन टेक्ससको अर्भिङस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र एनसीएससीको हलमा सञ्चालन हुनेछ ।
दूतावासका अनुसार डिसेम्बर १८ र १९ तारिकका दिन अस्टिन स्थित क्यन्स हल कन्ट्री रोड हुट्टोमा र २० तारिकका दिन ह्युस्टनको रिचमण्ड एभमा सोही प्रकारको शिविर सञ्चालन हुनेछ ।
एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापाले दूतावासँगै एनआरएनए टेक्सस च्याप्टर, नेपाली समाज टेक्सस, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, नेपाली समाज ह्युस्टन, ग्रेटर अस्टिन नेपाली सोसाइटी र क्रियटिभ नेप्लिज सोसाइटीको संयुक्त आयोजनामा हुन लागेको यस कार्यक्रम प्रभावकारी बनाउने उद्धेश्यका साथ शिविर सञ्चालन गरिएको हो ।
दूतावासले प्रदान गर्ने भनिएको अधिकृत वारेसनामा प्रमाणीकरण सेवा हाललाई विशेष कारणवश स्थगित गरिएको भए पनि नेपालीका लागि महत्वपूर्ण सरोकार राख्ने अन्य सेवाहरू भने पूर्वकार्यतालिका अनुसार नै सञ्चालन हुनेछ ।
शिविरमा उठान हुने केन्द्रीय विषयहरुबाट नेपाली समुदायले प्रभावकारी परामर्शसहितको सेवा प्राप्त गर्न सक्ने जानकारी आयोजक कमिटीले दिएको छ । लामो समयदेखि सामुदायिक चासो र सरोकार रहँदै आएका यि विषयबाट धेरै नेपाली लाभाम्वित हुने आयोजकले अपेक्षा गरेको छ ।