
चीनमा उपचाररत नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’को स्वास्थ्यमा सन्तोषजनक सुधार देखिएको छ । स्वास्थ्यमा सुधार भएसँगै पुनः अर्को साता नेपाल आउने भएका छन् ।
वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत मंसिर १६ गते नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनी सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालकोमा उपचार गराइरहेका छन् । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।
पुनकी पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले स्वास्थ्यमा राम्रो सुधार भएको जानकारी दिइन् । घर्तीका अनुसार पुनको शरीरमा हाल बिलरुबिन (जण्डिशको मात्रा) २० बिन्दुमा झरेको छ । उपचारमा जाँदा बिलरुबिनको मात्रा २७ थियो । उनका अनुसार आगामी मंगलवार नेता पुन नेपाल फर्कने सम्भावना छ । ‘डाक्टरहरुले अब तपाईं जान सक्नुहुन्छ भन्नुभएको छ’, घर्तीले भनिन्, ‘मंगलवारसम्म हामी नेपाल आउने सम्भावना छ ।’