
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले कक्षा ६ सम्म दिँदै आएको दिवाखाजालाई बढाएर आठ कक्षासम्म उपलब्ध गराउने भएको छ । साथै १२ कक्षासम्म कुनै पनि प्रकारको शुल्क नलिने घोषणा गरेको छ ।
नगरपालिका प्रमुख बालकृष्ण बस्नेतका अनुसार नगरभित्र रहेका ५४ विद्यालयलमा दिवाखाजा र निःशुल्क शिक्षाको शुरूआत गरिएको हो । ‘नगरभित्र यो शैक्षिक सत्रमा भर्ना भएका छ हजार सात सय विद्यार्थीले कुनै किसिमको शुल्क तिर्नुपर्दैन’, बस्नेतले भने, ‘कुनै पनि विद्यालयले नगरको परिपत्रविपरीत शुल्क लिए कारबाही गरिनेछ ।’
माध्यमिक विद्यालयलाई आवश्यक सबै शैक्षिक सामग्री नगरले उपलब्ध गराएपछि विद्यार्थीसँग शुल्क लिन नपाउने उनले बताए । दिवाखाजा, परीक्षा शुल्क र विज्ञान संकायको प्रयोगशालालाई लाग्ने अतिरिक्त खर्च नगरपालिकाले बेहोर्ने भएको छ । जसका लागि रु दुई करोड ६० लाख रकम छुट्याइएको छ । शिक्षा शाखा प्रमुख विनोद कार्कीले राज्यले संविधानमा उल्लेख गरेको शिक्षासम्बन्धी प्रावधान नगरपालिकाले यो वर्षदेखि कार्यान्वयन गरेको बताए । रासस