
७५ वर्षीया कुमारी लक्ष्मी राई असल मानिसको खोजीमा छिन् । उमेरका कारण आराम गर्ने समयमा पनि उनी असल मानिस कसरी बन्न सकिन्छ भनेर विद्यालयमा गएर विद्यार्थीलाई सिकाइरहेकी छन् ।
उनले असल मानिस कसरी बन्ने, स्वस्थ कसरी रहने, शान्ति कसरी पाइन्छ भनेर विद्यालयमा गएर सिकाउने गरेकी छन् ।
भोजपुरका १५ विद्यालयमा ९, १०, ११ र १२ कक्षाका विद्यार्थीलाई उनले प्रशिक्षण दिने गर्छिन् । आफ्नै खर्चमा विद्यालय–विद्यालयमा पुगेर उनले विद्यार्थीलाई सिकाइरहेकी छन् । वृद्धभत्ताबाट प्राप्त भएको रकमलाई उनले विद्यार्थीलाई असल र स्वस्थ बनाउन लगानी गर्ने गरेकी छन् ।
आफ्नै जिल्लावासीलाई असल र स्वस्थ बनाउनका लागि विद्यार्थीबाट विभिन्न अभियान थालेको उनले बताइन् । अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी लक्ष्मी भोजपुर नगरपालिका–८ मा बस्छिन् । ‘अहिले जिल्लाभरका १५ विद्यालयमा अभियान चलाइरहेकी छु,’ उनले भनिन्, ‘अब शरीरले साथ दियो भने जिल्लाका सबै विद्यालयमा पुगेर असल मानिस बनाउने भूमिका खेल्छु ।’
पडाडी जिल्ला भएकाले बर्खामा समस्या हुने गरेकाले सबैतिर पुग्न समस्या भएको उनले बताइन् । काठमाडौंको सेन्ट मेरिजबाट स्कूल शिक्षा सकेर त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर गरेकी लक्ष्मीले भोजपुरमा असल मान्छे छन् भन्ने बनाउन चाहेको बताइन् । साना बालबालिकाबाट परिवारलाई पनि परिवर्तन गर्ने उनको लक्ष्य छ । तिनै बालबालिकाले परिवारमा सन्देश लगेर परिवर्तन गरिदिऊन् भन्ने लागेको उनले बताइन् ।
मन्दिरमा गएर घण्टी बजाएर मात्रै हुँदैन, सहयोगी बन्नुपर्छ भनेर सिकाउने गरेको उनले बताइन् । भोजपुरका मान्छे असल होऊन्, राम्रा होऊन्, स्वस्थ रहून् भन्ने उद्देश्यले आफ्नै खर्चमा विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीलाई सिकाइरहेकी उनले बताइन् ।
देवानसिंह राईकी छोरी हुन् लक्ष्मी । देवानसिंह राई २०१५ सालमा भोजपुरबाट निर्वाचित सांसद हुन् । त्यसयता भोजपुरबाट कांग्रेसले चुनाव जितेको थिएन । सबै चुनावमा वामपन्थीकै वर्चस्व छ ।
मंसिर ४ गते सम्पन्न २०७९ सालको आमनिर्वाचनबाट भने कांग्रेसले प्रदेशसभामा जितेको छ । ६४ वर्षपछि यसपटक जीत हात पारेको हो । २०१५ सालमा कांग्रेसले जितेयता सबै चुनावमा वामपन्थीले जित्दै आएका थिए ।
देवानसिंहपछि भोजपुर–(१)२ बाट नेपाली कांग्रेसका विनोद बान्तवाले चुनाव जितेका छन् । उनी ७५१ मतान्तरका साथ विजयी भएका हुन् । विनोदले १३ हजार ५७९ मत ल्याउँदा प्रतिद्वन्द्वी नेकपा एमालेका खड्गबहादुर कार्कीले १२ हजार ८२८ ल्याएका थिए । देवानसिंह भने बीपी कोइरालाले नेतृत्व गरेको सरकारका सहायक मन्त्री समेत बनेका थिए । त्यसयता भोजपुरकै ज्ञानेन्द्र कार्की मन्त्री बनेका छन् । कार्कीले पनि भोजपुरबाट चुनाव जित्न सकेनन् । दोस्रो संविधान सभामा समानुपातिक तर्फबाट सांसद भएकी लक्ष्मी अहिले गाउँघरमै सामाजिक काममा सक्रिय छिन् ।
उनी राष्ट्रपति विद्यादेवी भण्डारीसँग राष्ट्रपति निर्वाचनमा पराजित भएकी थिइन् । भण्डारी दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिँदा उनकी प्रतिस्पर्धी बनेकी लक्ष्मी पुनः राष्ट्रपतिको आकांक्षी रहेको बताउँछिन् । त्यतिबेला वाम गठबन्धन हुँदा भण्डारीले दुईतिहाइभन्दा बढी मत ल्याएर विजयी भएकी थिइन् । भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।
२०७४ सालमा भएको राष्ट्रपतिको निर्वाचनमा भण्डारीले ३९ हजार २७५ मत प्राप्त गर्दा लक्ष्मी राईले ११ हजार ७३० मत ल्याएकी थिइन् । ‘रिटायर्ड’ जीवन बिताउने भनेर काठमाडौंबाट भोजपुर फर्केकी राईलाई पार्टीले सम्मान गरेको भन्दै उम्मेदवार बनाएको थियो । कांग्रेसले उम्मेदवार बनाएकी राई तथा माओवादीको समर्थनमा एमालेले उम्मेदवार बनाएकाी भण्डारी दुवै जना भोजपुरकै हुन् । बहालवाल राष्ट्रपतिसँग उनको त्यसयता भेट भएको छैन, उनले पनि विद्यालाई फोन गरेकी छैनन् । दुवै जनाको घर भोजपुरमा नजिकै रहेको छ । उनीहरू एकअर्काप्रति परिचित हुन् ।
‘मलाई रिटायर्ड जीवन बिताउन दिनुहोस् भन्दा कर गरेर राष्ट्रपतिमा उठाए,’ पहिलेको कुरा सम्झिँदै राईले भनिन्, ‘अहिले कसैले नसम्झिँदा दुःख लाग्छ ।’
‘पहिला हार्छु भन्ने जान्दाजान्दै पनि पार्टीले उम्मेदवार बनायो । मलाई आरामले बस्न दिनुहोस् भन्दा कर गरेर टिकट दिए । अहिले कांग्रेसको अवस्था राम्रो छ, अब यतिबेला सम्झिन्छन् कि सम्झिँदैनन् ? हेर्न बाँकी छ,’ उनले भनिन् ।
उनी राष्ट्रपतिको उम्मेदवार हुनुअघि मन्त्री बन्न चाहन्थिन् तर सभापति शेरबहादुर देउवाले पत्याएनन् । बरु उनलाई देउवाले २०७४ सालको निर्वाचनमा समानुपातिकमा राख्ने आश्वासन दिएका थिए । उनी समानुपातिकमा नबस्ने भनेर झोक्किएर हिँडेपछि राष्ट्रपति उम्मेदवार बनाइएको थियो ।