२६ जेठ २०८३, मंगलबार

पोषणको महत्त्व नबुझ्दा अण्डा उपभोग न्यून

पोषणको महत्त्व नबुझ्दा अण्डा उपभोग न्यून
प्रतिकात्मक तस्वीर

न्यून लागत मूल्यमा पाइने अण्डाको महत्त्व बुझ्न नसक्दा उपभोग न्यून हुने गरेको छ । 
 
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका खाद्य तथा पोषण अधिकृत शिलु श्रेष्ठको भनाइमा अण्डामा हाम्रो शरीरलाई चाहिने सबै किसिमका पौष्टिक तत्व पाइन्छ । अण्डामा प्रशस्त मात्रामा उच्च गुणस्तरको प्रोटिन पाइने बताउँदै उनले भनिन्, ‘गेंडागुडी, माछामासुमा पाइने प्रोटिनभन्दा अण्डामा पाइने प्रोटिन शरीरको लागि चाहिने उच्च गुणस्तरीय हो ।’

अण्डाको प्रोटिन आमाको दूधमा पाइनेभन्दा दोस्रो गुणस्तरको प्रोटिन भएको उनको भनाइ छ ।
 
‘हाम्रो शरीरलाई चाहिने सबै किसिमका आवश्यक एमिनो एसिड अण्डामा पाइने भएकाले अण्डालाई पूर्ण प्रोटिन पनि भनिन्छ,’ उनले थपिन्, ‘अण्डाको प्रोटिनले शरीरको वृद्धि विकास गर्न, शरीरमा भएका घाउ निको पार्न, विभिन्न किसिमका रोगसँग लड्ने दक्षता बढाउन, शरीरमा मांसपेशी निर्माण गर्न मद्दत गर्दछ ।’
 
एउटा अण्डामा लगभग ६ ग्राम प्रोटिन, ५ ग्राम फ्याट, भिटामिन ए, डी, ई, बी १२ पाउनुका साथै विभिन्न खनिज पदार्थ पाइने श्रेष्ठ बताउँछिन् । उनका अनुसार अण्डाको सेतो तथा पहेला दुवै भागमा प्रचुर मात्रामा पौष्टिक तत्व पाइने भएकाले हाम्रो शरीरको लागि दुवै भाग महत्त्वपूर्ण हुन्छ । सेतो भागमा अण्डामा पाइने सम्पूर्ण प्रोटिनको आधाभन्दा बढी प्रोटिन पाइनुका साथै अरु खनिज पदार्थजस्तै क्यालसियम, म्याग्नेसियम, पोटासियम, सेलेनियम, सोडियम, सल्फर, जिंक आदि पाइने उनको भनाइ छ ।
 
अण्डाको पहेंलो भागमा धेरै भात्रामा ओमेगा थ्री फ्याटी एसिड (राम्रो चिल्लो) र थोरै मात्रामा नराम्रो चिल्लो (स्याचुरेटेड फ्याट) पाइने उनको भनाइ छ । अण्डा  खाएपछि तुरुन्त भोक नलाग्ने भएकोले तौल कम गर्न चाहने मानिसका लागि यो फाइदाजनक हुने श्रेष्ठ बताउँछिन् । उनले अगाडि थपिन्, ‘अण्डा बच्चा, बूढाबूढी, गर्भवती महिला, दूध खुवाउने आमा, क्यान्सर तथा विभिन्न रोगका बिरामी सबैका लागि एकदम आवश्यक हुन्छ ।’
 
एउटा स्वस्थ मानिसले दैनिक १ देखि २ वटा अण्डा खान ठीक मानिने बताउँदै उनले धेरै प्रोटिन चाहिने मानिसले थप १–२ अण्डाको सेतो भाग खान सक्ने सुझाव दिइन् । मुटुको रोग, मधुमेह, उच्च कोलेस्टेरोलको समस्या नभएका क्यान्सरका बिरामी तथा अन्य रोगका बिरामीका लागि शल्यक्रिया गरेका घाउ चाँडो निको पार्न, शरीरमा रगतको मात्रा बढाउन, शरीरमा मांसपेशी बढाउन, रोगसँग लड्ने क्षमता बढाउन आदिको लागि दिनको १–२ पूरा अण्डा खान फाइदाजनक हुने उनी बताउँछिन् । उनले भनिन्, ‘बढी प्रोटिन चाहिने बिरामीले थप अण्डाको सेतो भाग खान सक्छन् । मधुमेह, मुटुका रोगी तथा उच्च कोलेस्टेरोल भएका बिरामीले हप्तामा ३–४ वटा अण्डा खान सक्छन् भने सेतो भाग शरीरको आवश्यकता अनुसार दिनहँु खान सक्छन् ।’

salt training

कमेन्ट गर्नुहोस्