२१ असार २०८३, आइतबार

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै

मध्यमस्र्याङ्दीमा विद्युत् उत्पादन घट्दै
प्रतिकात्मक तस्वीर

लमजुङ जिल्लामा रहेको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घट्न थालेको छ ।

आयोजनामा आवश्यक पानी कम हुँदै गएपछि विद्युत् उत्पादन घट्न थालेको हो ।

बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् केन्द्रमा कूल क्षमताभन्दा करीब २१/२२ मेगावाट नै विद्युत् उत्पादन घटेको छ । 

मस्र्याङ्दी नदीमा पानी कम हुन थालेसँगै आयोजनाको विद्युत् घट्दा यतिबेला दैनिक ४८/४९ मेगावाटको हाराहारीमा बिजुली उत्पादन भइरहेको केन्द्र प्रमुख पवन बस्नेतले बताए । उनले भने, ‘१ महिनाअघिसम्म नदीको पानी बढी भएर खेर जान्थ्यो तर अहिले सबै पानी प्रयोग गरे पनि उत्पादन घटिरहेको छ ।’

अझै २ महिनासम्म निरन्तर बिजुली उत्पादन घट्दै जाने उनको भनाइ छ । आयोजना ३५/३५ मेगावाट क्षमताको २ वटा टर्बाइन गरी ७० मेगावाट क्षमताको आयोजना हो । आगामी फागुन महिनाको अन्तिमसम्म पुग्दा विद्युत् उत्पादन निकै कम हुने आयोजनाले जनाएको छ ।

विगतका वर्षहरूमा विद्युत् उत्पादन घटेर २६ मेगावाटसम्म पुग्ने गरेको थियो । 

सन् २००० मा निर्माण कार्य शुरू भई सन् २००८ मा निर्माण कार्य सम्पन्न भएलगत्तै आयोजनाबाट विद्युत् उत्पादन थालेको थियो । २७ अर्ब २० करोड रुपैयाँ लागतमा आयोजना निर्माण भएको थियो । यसबाहेक जिल्लामा विद्युत् उत्पादन थालेका करीब आधा दर्जन आयोजनाहरूमा समेत बिजुली उत्पादन घट्ने क्रममा रहेको छ ।

मस्र्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा रहेको ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पनि अब भने घट्ने क्रममा रहेको आयोजनाले जनाएको छ । 

२७ मेगावाट क्षमताको दोर्दी जलविद्युत् आयोजना, २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना, ५ मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, ३ मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट पनि बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्