२५ असार २०८३, बिहीबार

जथाभावी सवारी पार्किङ गर्नेलाई ५ हजार जरिबाना

जथाभावी सवारी पार्किङ गर्नेलाई ५ हजार जरिबाना

वीरगञ्ज महानगरपालिकाले नगरको विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेको निर्माण सामग्री हटाउने कामलाई तीव्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुनसक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।  

महानगरले शनिवार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । 

एडभान्स हस्पिटलले लामो समयदेखि पार्किङ गरेर राखेको एम्बुलेन्स महानगरको डोजरले तानेर हटाएको वीरगञ्ज महानगरका फोहोर व्यवस्थापन तथा हरियाली संयोजक जयप्रकाश खेतानले जानकारी दिए । ‘हस्पिटलले वर्षौँदेखि सडक छेउमा वेवारिसे अवस्थामा एम्बुलेन्स पार्किङ गरेर राख्दा आउजाउमा पनि असहज भएको थियो’, उनले भने, ‘महानगरले शुरु गरेको अभियानअन्तर्गत आज हामीले जथाभावी पार्किङ गर्ने, फुटपाथ र नाला मिचेर राखिएका निर्माण सामग्री र ठेला हटाउने अभियान अन्तर्गत यो क्षेत्र क्लियर गरेका छौँ, अब सहज हुने अपेक्षा छ ।’

अहिले महानगर र सरोकारवालाहरुको सक्रियतामा घण्टाघरदेखि नारायणी अस्पतालसम्म, मकालु होटल हुँदै घडिअर्वासम्मको सडकमा चारपांग्रे सवारी पार्किङ गर्न निषेध गरिएकाले ती क्षेत्रमा पार्किङ गरिएका सवारीलाई कारबाही गर्न थालिएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लले बताए ।  

तीन पाङ्ग्रे र चारपाङ्ग्रे सवारी निषेध गरिएका स्थानमा जानकारीका लागि ठाउ–ठाउँमा बोर्ड राखिएको छ । अटेर गर्दै ती क्षेत्रमा पार्किङ गर्ने सवारी साधनलाई ५ हजारसम्म जरिबाना गरिने पनि उनले बताए । 

महानगरले निश्चित स्थान तोकेकाले तोकिएको स्थानमा मात्रै पार्किङ गर्न पनि सबैलाई अनुरोध गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्