
नेपाली कांग्रेसका एक दर्जन केन्द्रीय सदस्यले केन्द्रीय कार्यसमिति बैठक बोलाउन माग गरेका छन् ।
ललितपुरको एक होटलमा आयोजित बैठकमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नैनसिंह महर, मदन अमात्य, योगेन्द्र चौधरी, भोजराज श्रेष्ठ, हरिकृष्ण नेपाली, नानु बास्तोला, सरस्वती अर्याल, अब्दुल मियाँ लगायतका नेताहरूले तत्काल केन्द्रीय कार्यसमिति बैठकको माग गरेका हुन् ।
संकटग्रस्त अर्थतन्त्र र चुनावी समीक्षाका लागि केन्द्रीय समिति बैठकको माग गर्न बैठकले निष्कर्ष निकालेको नेता विश्वकर्माले बताए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिना हुन लाग्दा पनि कांग्रेसले चुनावी समीक्षा समेत गरेको छैन । केन्द्रीय सदस्यहरूले संस्थापन पक्षभित्र केही नेताहरूको एकाधिकार चलेको बताउँदै चिन्ता व्यक्त गरेका थिए ।
संस्थापक पक्षभित्र भइरहेको पक्षपाती व्यवहारबारे सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरूले ध्यानाकर्षण गराउने भएका छन् ।