१० साउन २०८३, आइतबार

पुसमै लगलगी चाडो बढेपछि तराइ मधेसका निम्नआय भएकाहरु बढी पीडित

पुसमै लगलगी चाडो बढेपछि तराइ मधेसका निम्नआय भएकाहरु बढी पीडित

यसपालि पुसमै चिसो निकै छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मङ्सिर तेस्रो साता अन्त्य हुनासाथै चिसो निकै बढेको हो । विगत वर्षहरूमा मध्य पुसदेखि बढ्ने गरेको चिसो हावा बहने क्रम यसपालि भने मङ्सिर चौथो साता सुरु भएसँगै बढेको छ । पछिल्ला १० दिनयता एकाबिहानैदेखि बाक्लो हुस्सु लागेर चिसो सिरेटो चल्नेक्रम नरोकिँदा गरिब बस्तीमा पुसमै बिचल्ली भएको छ । 

चिसोको कहरले सबै क्षेत्रलाई प्रभाव पारे पनि यहाँका गरिब दलित बस्तीको अवस्था नाजुक बनेको छ । पराले झुप्राका गुजुमुज्ज बस्तीमा स–साना नानीको जाडो छल्ने सहारा सडकमा मिल्किएका चिथ्रा थाङ्ना, प्लाष्टिक र कसिङ्गर सोहोरिएर बालिने घूर (कसिङ्गर जम्मा पारेर बालिएको आगो) बनेको छ । न ओढ्ने, ओछ्याउने न आङ ढाक्ने लुगा १ शीतले भिजेका कसिङ्गर सल्काउँदा निस्कने पचपची धुँवाको मुस्लोभित्रको  घूर वरिपरि बसेर मनमनै तातोको अनुभूति गर्नपर्ने जिन्दगी यहाँका मुसहर, बाँतर, मेस्तर, डोम, चमार र दुसाध बस्तीमा देखिन्छ ।

“यो मुटु कमाउने जाडोमा न बनीबुतो गर्न निस्कन सकिन्छ, न घरमा पानीबाहेक तताएर खाने सरदाम केही छ”, भङ्गाहा–३ सकरी बस्तीको मुसहरीटोलकी रामराजी सादा (मुसहर) ले भनिन्, “चुनाव सकियो, अब कोही हाम्रो अवस्था हेर्न आउने छैनन् ।” सो बस्तीकी अगुवा रामराजी बढ्दो चिसोका कारण दैनिक ज्यालादारी श्रम गरेर गुजारा गर्नुपर्ने आपूmहरूका लागि जाडो मौसम सधैँ कष्टदायक रहँदैआएको बताइन् । 

महोत्तरीको मध्य र दक्षिणी भेगमा त मङ्सिर तेस्रो साताको अन्त्यदेखि नै बिहान हुस्सुले ढाक्दैआएको छ । मध्याह्नसम्म घाम देखिँदैन । त्यसपछि झल्याकझुलुक देखिने घाम मधुरो हुने र चिसो सिरेटो लगातार चलेपछि यसपालि चाँडै जाडोको कहर बढेको हो । जिल्लाको उत्तरी भेगको पूर्वपश्चिम राजमार्ग वरपर मङ्सिर निगल्दोसम्म बिहानै घाम देखिए पनि पुस लागे यता भने यो भेगमा पनि एकाबिहानैदेखि हुस्सुले ढाक्दैआएको छ । 

मध्याह्नपछि देखिने घाम पनि मधुरो हुँदा यसपालि चाँडै जाडोले करामत देखाएको जलेश्वर नगरपालिका –२ का सामाजिक कार्यकर्ता जिरेखन पासवानले बताए । एक्कासी बदलिएको मौसमले ब्यापार व्यवसायमात्र नभएर कृषि कार्य पनि प्रभावित भएको उनको भनाइ छ । 

अहिले नै यस्तो बिजोग भएपछि अब माघसम्म कस्तो होला ? भन्ने सोचेर नै यहाँका बूढापाका जाडो कसरी काट्ने भन्ने चिन्तामा रहेको उनले बताए । “खै उमेरले भर्खर ६० नाघियो, मङ्सिरदेखि नै यसरी लगलगी कमाउने जाडो त यसअघि त्यति भोगेको सम्झनै छैन”, महोत्तरीको भङ्गाहा नगरपालिका –४ रामनगरका ६१ वर्षीय किसान सत्यनारायण यादवले भने, “खै बितेका दुई वर्षको कोरोना (कोभिड–१९) कहरले चाँडै जाडो बढाएको त हैन ?” पोहोर र परारको कोरोना कहर सम्झँदै उनले भने ।   

बढ्दो जाडोले यस भेगका गरिब र दलित बस्ती बढी जोखिममा परेका छन् । दैनिक ज्यालादारी गरेर गुजारा गर्नपर्ने श्रमिक काममा जान नपाएपछि भोकभोकै बस्नुपर्ने अवस्था बनेको छ । 

चिसो बढ्दै जाँदा वृद्धवृद्धा, सुत्केरी महिला र स–साना नानीहरूको स्याहार, सम्भार कठिन भएको छ । घरमा पोषणयुक्त ताजा खाना, न्यानो लुगा र घरवरपर सरसफाइमा कमी हुँदा पराले झुप्राका बस्ती बढ्दो जाडोले बढी प्रभावित भएका देखिन्छन् । जिल्लाका सबैजसो स्वास्थ्य संस्था रुघाखोकी, श्वासप्रश्वास र हाडजोर्नी दुख्ने व्यथाका बिरामीले भरिभराउ देखिएका छन् । “बढ्दो चिसोले ग्रमीण बस्तीमा बिरामी हुनेक्रम निकै बढेको छ, अस्पताल आएका बिरामीलाई सेवा दिन हामीलाई भ्याइनभ्याइ परेजस्तै छ”, बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. किशोर अधिकारीले भने । 

जिल्लाका स्वास्थ्य संस्थाले धमाधम सूचना प्रसारण गराएर चिसोमा आफ्नो घरपरिवारको स्याहार–सम्भारमा ध्यान दिन आग्रह गरेका छन् । घरमा आफ्नै वरपर पाइने सागपात र गेडागुडीको झोल खान, अत्यन्त जरुरी काम नपरी बाहिर ननिस्कन, न्यानो ठाउँमा बस्न र घरवरपरको सरसफाइमा ध्यान दिन स्वास्थ्य संस्थाको तर्फबाट सूचना जारी गरिएका छन् । 

यसैबीच जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीय तह र जिल्ला दैवीप्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदैआएको जनधनको क्षति हुन नदिन पूर्व सतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्