
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु देउवा राणाले कांग्रेस संसदीय दलको नेता र प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने बताएकी छन् । कांग्रेस ठूलो पार्टी भएकोले सरकारको नेतृत्व देउवाले नै गर्ने उनको भनाइ छ ।
आइतवार समानुपातिक सांसदको प्रमाणपत्र लिएपछि लोकान्तरसँगको प्रतिक्रियामा आरजुले देउवा नै संसदीय दलको नेता बन्ने दाबी गरेकी हुन् ।
‘मेरो कुनै तयारी छैन, पार्टीलाई लार्जेष्ट बनाएकोले शेरबहादुर देउवा नै संसदीय दलको नेतामा लड्नु हुन्छ’, आरजुले लोकान्तरसँग भनिन्, ‘गठबन्धनभित्रको सबभन्दा ठूलो दलको नेताको हैसियमा प्रधामन्त्री पनि उहाँ नै हो ।’
संसदीय दलको नेताका लागि कांग्रेसभित्र चुनाव हुनु स्वभाविक भएको उनले बताइन् । ‘हाम्रो लोकतान्त्रिक पार्टी हो, देउवाले सन् २००० देखि गिरिजाप्रसाद कोइरालासँग लड्नु भएको हो । प्रतिष्पर्धा गरेर जानुपर्छ’, उनले भनिन् ।
प्रधानमन्त्रीका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी अस्वाभाविक नभएको उनको प्रतिक्रिया थियो । ‘प्रधानमन्त्रीमा सबैको दाबी छ, जसले दलबाट जितेर आउनु भएको छ । मलाई ज्योतिषी ज्ञान त आउँदैन, तर प्रधानमन्त्री शेरबहादुरजी हुनुहुन्छ’, आरजुले भनिन् ।
