०८ साउन २०८३, शुक्रबार

जनमत पार्टीको दाबी : संघीय सरकारमा कृषि र भौतिक पूर्वाधार मन्त्रालय चाहियो

जनमत पार्टीको दाबी : संघीय सरकारमा कृषि र भौतिक पूर्वाधार मन्त्रालय चाहियो

जनमत पार्टीको तर्फबाट समानुपातिक सांसदमा निर्वाचित अब्दुल खानले अब गठन हुने संघीय सरकारमा दुईवटा मन्त्रालयमा दाबी पेश गरेका छन् । आइतवार निर्वाचन आयोगले दिएको समानुपातिक सांसदको प्रमाणपत्र बुझ्ने क्रममा लोकान्तरलाई प्रतिक्रिया दिँदै संघीय सरकारमा दुईवटा मन्त्रालयमा आफ्नो पार्टीको दाबी रहेको बताएका हुन् । उनले संघीय सरकारमा आफ्नो पार्टीको कृषि तथा पशुपन्छि र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा दाबी रहेको बताए । 

सांसद खानले आफ्नो पार्टी सरकारमा जाने प्रबल संभावना रहेको पनि बताए । सरकारमा सहभागी हुने विषयमा वर्तमान प्रधानमन्त्रीसँग कुराकानी भइरहेको जानकारी दिँदै उनले आफ्नो पार्टीले उठाएको एजेण्डा सम्बोधन भएमा सरकारमा सहभागी हुने बताए । 

उनले जनमत पार्टीले प्रदेशको मुख्यमन्त्रीमा पनि दाबी गरेको बताएका छन् । मधेश प्रदेशमा जनमत पार्टीले पाएको मतका आधारमा पनि जनताले जनमत पार्टीको सरकार चाहेको भन्ने देखिने खानको दाबी छ । उनले सात वटा प्रदेशमध्ये कुनै एकमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने कुरामा आफूहरू आशावादी रहेको र त्यसमध्ये मधेश प्रदेशमा बढी संभावना रहेको बताए । 

सांसद खानले जनमत पार्टीले मुख्यतः चारवटा एजेण्डामा काम गर्ने पनि बताएका छन् । विगतदेखि नै आफूहरू रोजगारीको व्यवस्था, कृषि क्षेत्रको समस्या समाधान, नागरिकता समस्याको स्थायी समाधान र भ्रष्टाचार अन्त्यको विषयमा आवाज उठाउँदै आएकाले त्यस विषयलाई निरन्तर उठाउने बताए । सरकारमा सहभागी हुनका लागि आफूहरूको शर्त पनि त्यही हुने उनको भनाइ थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्