
साविक विजेता फ्रान्सलाई फाइनलमा स्तब्ध पार्दै अर्जेन्टिना विश्वकप फु्टबल–२०२२ को च्याम्पियन बनेको छ । पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ ले स्तब्ध पार्दै लियोनेल मेस्सी नेतृत्वको अर्जेन्टिना विजयी भएको हो । निकै रोमाञ्चक बनेको खेल निर्धारित ९० मिनेटमा २–२ को बराबरी तथा अतिरिक्त समयमा ३–३ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा फ्रान्सका दुई खेलाडी चुक्न पुग्दा अर्जेन्टिनाको पक्षमा नतिजा गयो ।
कतारको लुसाइल रंगशालामा आइतबार राति भएको खेलमा सुरुवाती अग्रता अर्जेन्टिनाले लियो । डी बक्स एरियामा डी मारियालाई फ्रेन्च खेलाडीले लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो । त्यसको सदुपयोग गर्दै मेस्सीले २३ औं मिनेटमा गोल गरे ।
त्यसपछि डी मारियाले ३६ औं मिनेटमा अर्को गोल गर्दै टीमलाई दोब्बरको अग्रता दिलाए । पहिलो हाफमा २–० ले अगाडि रहेको अर्जेन्टिनाविरुद्ध दोस्रो हाफमा नाटकीय रुपमा फ्रान्स खेलमा फर्कियो । फ्रान्सका लागि एम्बापेले ८० औं मिनेटमा गोल गरे भने त्यसको एक मिनेटपछि अर्को गोल गर्दै टीमलाई बराबरीमा ल्याए ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरी भएपछिको अतिरिक्त समयमा मेस्सीले १०८ औं मिनेटमा अर्को गोल गरे । तर, एम्बापेले ११८ औं मिनेटमा अर्को गोल गर्दै टीमलाई बराबरीको अवस्थामा पुर्याए भने व्यक्तिगत रुपमा ह्याट्रिक पुरा गरे ।
जितसँगै अर्जेन्टिनालाई आफ्नो नेतृत्वमा विश्वकप जिताउने मेस्सीको सपना पुरा भएको छ । विश्वकप इतिहासमा अर्जेन्टिनाले उपाधि जितेको यो तेस्रो अवसर हो ।