१५ असार २०८३, सोमबार

अदुवाभन्दा पिँडालु महँगो भएपछि किसानको ध्यान मोडियो

अदुवाभन्दा पिँडालु महँगो भएपछि किसानको ध्यान मोडियो

दिपायलका किसानले निकै मिहिनेत गरेर उत्पादन गरेको अदुवालेभन्दा पिँडालुले बजार पाउन थालेको छ । कमै मात्रामा उत्पादन हुने र  कम भाउमा बिक्री हुने पिँडालु यतिबेला डोटीको स्थानीय बजार खड्यौली, बर्छैन, वीपीनगर र कैलालीको धनगढी र अत्तरियालगायतका  बजारमा  बिक्री भइरहेको छ ।

डोटीको बडीकेदार, जोरायल  र बोगटान फुड्सिल गाउँपालिकामा धेरै मात्रामा अदुवा उत्पादन भए पनि पछिल्लो समय मूल्य नपाएपछि किसान पिँडालु खेती गर्न थालेका छन् । बडीकेदारका किसान  व्यवसायको रुपमा नै अदुवा खेती छोडेर पिँडालु खेती गर्दैआएका छन् ।

पहिले त अदुवाको मूल्य धेरै थियो तर पछिल्लो दुई वर्ष यता बजारमा मूल्य पाउन छाडेपछि पिँडालु खेती गरिरहेको बडीकेदार –२ का नरबहादुर शाहीले बताए । उनले भने, “अदुवाभन्दा कम मिहिनेत लाग्ने पछिलो समय अदुवाभन्दा बढी मूल्य भएका कारण पिँडालु खेती शुरु गरेको हौं । ” पिँडालु बिक्रीबाट वार्षिक रुपमा रु ३० देखि ४० हजारसम्म आम्दानी हुने गरेको उनले बताए । आफुले पिँडालु खेती गरेपछि यस क्षेत्रका अधिकांश किसानले पिँडालु खेती गरिरहेको उनको भनाइ छ  ।

कुनै समय प्रतिकेजीको रु ९० मा बेचिने अदुवा  यतिबेला प्रतिकेजी रु २० का दारले बिक्री गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ । पिँडालु खेतीमा सम्लग्न बडीकेदार –५ का तेज कोटकेनीले भने, “अदुवाभन्दा त पिँडालुको मूल्य बढी छ, किसानले प्रतिकेजी पिँडालु रु ३० का दरले बिक्री गरिरहेका छन्  ।  पहिले कसैले पनि खरिद नर्गने  पिँडालु महँगोमा बिक्री हुन्छ, तर सधैंभरी किसानले मिहिनेतका साथ उत्पादन गरेको अदुवा सस्तो छ ।” 

दुई रोपनीबाट शुरु गरेको पिँडालु खेतीबाट राम्रौ  आम्दानी भएको बडीकेदार –४ का घनबहादुर ताडीले बताए । साठीदेखि ७० रोपनीमा लगाउने गरेको अदुवा खेती विचौलिया व्यापारीका कारण मिहिनेत गरेजति मूल्य नपाएको उनको गुनासो छ । भारत तथा जिल्ला बाहिरका व्यापारी नआउँदा न्यून मूल्य भएपछि अदुवा खेती छोडेर पिँडालु खेती गरेको उनले बताए । यस वर्ष रु १५ हजार बराबरको पिँडालु बिक्रीबाट आम्दानी भएको  किसान ताडीले बताए । 

किसानको जीविकोपार्जन गर्दैआएको अदुवा खेती पछिल्लो समय बजारमा कम मूल्य भएका कारण अधिकांश  किसान पिँडालु खेती गरिरहेको बडीकेदार गाउँपालिका कृषि शाखा प्रमुख सुरेन्द्र शाहीले बताए । यस क्षेत्रमा पिँडालु राम्रो उत्पादन हुने भएकाले स्थानीय सरकारबाट पिँडालु पकेट क्षेत्र बनाई कार्यान्वयन गर्ने, सबै किसानलाई सहुलियतमा अनुदान दिने, बजारीकारण र चिस्यान केन्द्रका लागि पहल गरिने उनले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्