
ग्रामीण भेगमा अझै पनि भान्सामा परम्परागत चुलोको प्रयोग गर्नाले दमका रोगी बढेका छन् । गुल्मीको चन्द्रकोट गाउँपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा अधिकांशलाई दमको समस्या देखिएको छ ।
चन्द्रकोट –४ का बलबहादुर पुन उमेरले ८५ वर्षको पुगे । उनलाई दमसम्बन्धी समस्या पहिलेदेखि नै थियो तर, गाउँपालिकाको केन्द्र शान्तिपुरमा विशेषज्ञ डाक्टरसँग जाँच गराएपछि मात्र यसको बढी असर घरकै चुलोबाट भएको उनले थाहा पाए । चुलोबाट निस्कने धुवाँका कारण उनलाई फोक्सोसम्बन्धी दमले च्यापेको छ । “घरमा सधैँ चुलोमै खाना पाक्छ, धुवाँ हुन्छ तर यसको असर मलाई थाहा थिएन”, उनले भने, “डाक्टरले भनेपछि बल्ल धुवाँको असर अनूभूति भयो । ”
चन्द्रकोट–३ का शिवलाल न्यौपाने पनि डाक्टर आएको थाहा पाएपछि शान्तिपुरमा पुगे । ८० वर्षका उनलाई दम भएको थाहा भए पनि कारण जानकारी थिएन । डाक्टरसँगको जाँचपछि घरकै चुलोबाट निस्कने धुवाँ र धूमपानका कारण दम बढेको थाहा पाए । “धुलो र धुवाँमा त अनगिन्ती समयसङ्गत गरियो”, उनले भने, “यसको असरबारे मलाई अहिलेसम्म जानकारी थिएन ।”
सोही ठाउँकी ७८ वर्षीया पार्वती सुवेदी पनि दमलगायतका रोगबाट पीडित छिन् । उनको अधिकांश समय चुलोको धुवाँसँगै बितेका कारण दमले च्याप्दै गएको डाक्टरको जाँचपछि पत्तो पाइन् । ८६ वर्षीया पूर्णकला थापाको पनि समस्या उहीँ हो । उनीहरु मात्र होइन, चन्द्रकोटको निःशुल्क स्वास्थ्य शिविरमा सहभागी अधिकांश बिरामी दमको विरामी छन् । शुक्रबार, शनिबार र आइतबार सञ्चालन भएको शिविरमा सेवा लिएका एक हजार छ सय २३ जनामध्ये अधिकांश दमका बिरामी सहभागी भए । योसँगै मिर्गौला, मुटु, स्त्री, जनरल फिजिसियन र आँखाका बिरामीले पनि सेवा लिएका छन् । निःशुल्क जाँचसँगै औषधि पनि पाएका छन् ।
गाउँघरमा दैनिक चाहिने ऊर्जाका निम्ति कोइला, दाउरा तथा गुइँठा आगोको कच्चा पदार्थका रुपमा प्रयोग गरिन्छ । खाना बनाउनका लागि प्रयोग हुने गरेका यी वस्तु र चिसो मौसममा आगो तापेर चुलो छेउमा बस्दा पनि धुवाँले असर गरिरहेकै कारण अधिकांशमा दमको समस्या देखिएको हो ।
चन्द्रकोट गाउँपालिकाको स्वास्थ्य शिविरमा उपस्थित अधिकांशमा आफूले जाँच गर्दा दमसम्बन्धी समस्या देखिएको जनरल फिजिसियन डा. नन्दु पाठकले जानकारी दिए । चुलोबाट निस्कने धुवाँ र धूमपान बढी प्रयोगका कारण दमको समस्या देखिएको उनले बताए । ग्रामीण भेगमा अझै पनि सुधारिएको चुलोको प्रयोगमा समेत कमी छ । रासस