२५ असार २०८३, बिहीबार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

सरसर्ती २४ घण्टा : यस्ता छन् प्रमुख समाचार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
लियोनेल मेस्सीका लागि आइतबारको रात ‘सुनौला रात’ सावित भएको छ । फुटबल दुनियाँमा विभिन्न उपाधि जितेपनि विश्वकपको उपाधि जित्न नसकेका मेस्सीले त्यो पनि प्राप्त गरेका हुन् । 
सम्भवतः अन्तिम विश्वकप खेलिरहेका मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वकपको उपाधि दिलाएका हुन् । कतारको दोहास्थित लुसेल रङ्गशालामा आइतबार सम्पन्न फाइनल खेलमा  फ्रान्सलाई अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले हराउँदै उपाधिमा कब्जा जमाएको हो ।  यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितेको थियो ।
००००
राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्न दलहरुसँग आह्वान गरेकी छन् ।  संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले आह्वान गरेकी हुन् ।  निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम नतिजा दिएलगत्तै सरकार गठनका लागि आह्वान भएको हो । 

संविधानको धारा–७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीको नाम सिफारिस गर्न राष्ट्रपतिले संसदमा रहेका दलहरुलाई आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।
००००
नेपाली कांग्रेसले संसदीय दलको नेता चयनका लागि पौष ६ गते चुनाव गर्ने तयारी गरेको छ । पुस ६ गते संसदीय दलको निर्वाचन गर्ने तयारी रहेको कांग्रेस स्रोतले बतायो । प्रधानमन्त्रीका लागि नाम सिफारिस गर्नुपर्ने भएकोले ६ गतेका लागि चुनावको मिति गर्नेगरी तयारी भएको कांग्रेस स्रोतले बतायो । 

कांग्रेस कार्यसम्पादन समितिको आइतवार बसेको बैठकले संसदीय दलको चुनावका लागि सहमहामन्त्री भीष्मराज आङदम्बेको संयोजकत्वका तीन सदस्सीय समिति गठन गरेको थियो ।
यसैबीच नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने भएको छ । 
००००
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासमा लिखित जवाफ पेस गरेका छन् । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी भएको पत्र लेखेपछि गौतमविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो । सर्वोच्च अदालतले लिखित जवाफ माग गरे पछि गौतमले महान्यायाधिवक्ताको कार्यालयमार्फत जवाफ बुझाएका हुन् ।
००००
निर्वाचन आयोगले समानुपातिक निर्वाचित प्रणालीतर्फ निर्वाचित सांसदहरूलाई आइतवार प्रमाणपत्र वितरण गरेको छ । आयोगले प्रतिनिधि र प्रदेश सभातर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो ।  
प्रमाणपत्र लिन सांसदकहरू आफन्तसहित निर्वाचन आयोगको कार्यालय पुगेका थिए ।
००००
नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधि सभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् । आइतवार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रवक्ता महराले प्रतिनिधि सभाका सबै सदस्यहरुको सपथग्रहणपछि मात्रै संसदीय दलको नेता चयन गरिने बताए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शम्शेर जबराले संघीयता मधेशका आठ जिल्लामा सीमित गरे हुने बताएका छन् । मधेश प्रदेशको लागि मात्र संघीयता आवश्यक भएकाले मधेशका आठ जिल्लामा मात्र सीमित गरे हुने उनले उनको भनाइ थियो ।
००००
वाणिज्य बैंकहरूमा मंसिर महिनामा मात्रै ५८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले जारी गरेको एक तथ्यांकअनुसार वाणिज्य बैैंकहरूमा कात्तिक महिनाको तुलनामा मंसिरमा मात्रै उक्त निक्षेप थप भएको छ । 
बैंकहरूमा कात्तिक मसान्तसम्ममा ४५ खर्ब ६३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस्तो निक्षेप मंसिर मसान्तसम्ममा ४६ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
००००
आइतबार राति भूकम्प गएको छ ।   राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भुकम्पको धक्का, धादिङलगायतका जिल्लामा महसुस भएको जनाइएको छ ।
००००
धरानका मेयर हर्क साम्पाङले माफी मागेका छन् । उनीविरुद्ध ६ राजनीतिक दल एक ठाउँमा उभिएपछि माफी मागेका हुन् । मेयर साम्पाङले आइतवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै माफी मागेका हुन् । 

गाउँले ठट्यौली उखानको शैलीमा ‘चमारे’शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको भन्दै माफी मागेका छन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिकाका तत्कालीन अध्यक्ष सलाम सिं लामासहित ७ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । 
गाउँपालिका अध्यक्ष र व्यवसायीसमेतको मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् सम्बन्धी ठेक्कामा कबोल अंक र सम्झौता अंक फरक पारी राजस्व चुहावट गरे गराएको कसूरमा ७ जना विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।
००००
नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको भाडा वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । 
महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु पर्ने बताएको छ ।
००००
नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले १५ दिन बनाइएको हो ।

राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको परिपत्र २०७८ मा संशोधन गर्दै यसबारे जानकारी गराएको हो ।
००००
सरकारले पेट्रोलियम पदार्थको ढुवानी भाडा १० प्रतिशतले वृद्धि गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल भित्रका १७ र नेपाल बाहिरका ५ वटा रुटमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर र ट्रकको भाडा वृद्धि गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्