०५ साउन २०८३, मंगलबार

राप्रपालाई प्राप्त मत परीक्षण मत हो : लिङदेन

राप्रपालाई प्राप्त मत परीक्षण मत हो : लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाको उकालो यात्रा शुरु भएको बताएका छन् । उनले आगामी दिनमा सतर्कतापूर्वक अगाडि बढ्दै पार्टीलाई पहिलो बनाउने बताए । 

पार्टीबाट निर्वाचित सांसदहरूलाई बधाई दिन सोमवार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणामबाट आफू सन्तुष्ट नभएको उल्लेख गरे । पार्टीलाई ठीक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उनले जनताको मन भने जितेको बताए । उनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गरे । 

‘यो परिणामबाट म खुशी छैन । मैले परिकल्पना गरेको परिणाम यो होइन । मैले यतिको मात्रै अपेक्षा गरेको थिइनँ । मैले नैतिक रूपमा म अध्यक्षबाट राजीनामा दिएँ भनेर हालिदिउँ कि जस्तो लागेको थियो । यति सिटको राप्रपा कल्पना गरेको थिइनँ । म इमान्दारीपूर्वक भन्छु यो परिणामबाट म उज्यालो छैन । खुशी छैन । यो परिणाम आउन अध्यक्षको हिसाबले म जिम्मेवार छु । हामीले ठीक ढंगले आफूलाई परिचालित गर्न सकेनौँ । प्राविधिक रुपमा मत जित्न नसके पनि हामीले मन जितेका छौँ । हामी प्रति आशा पलाएको छ । साथीहरूमा निराशा थियो । त्यस्तो साथीहरूलाई अहिले धेरै आयो नि भन्ने छ । तर हामीले ल्याउनुपर्ने यति मात्रै होइन । जित्नुपर्ने यति मात्र होइन’, अध्यक्ष लिङदेनले भने, ‘हामीले जे परिणाम प्राप्त गरेका छौँ । त्यसको जगमा टेकेर आगामी दिनमा राप्रपालाई मुलुकको पहिलो शक्ति बनाउँछौँ । राप्रपा मुलुकको पहिलो शक्ति बन्छ र हामीले हाम्रो जीवनकालमै हामीले हाम्रो मान्यताहरू स्थापित गर्छौं । जनताले आशाको दृष्टिले हेर्न थालिएको छ । साना–तिना आशंका पनि बाँकी छन् । यो मत परिणामले के देखाउँछ भने तिमिहरू साच्चै सुध्रिएकै हो त ? हेरौँ न त एकचोटी । सुध्रिएको हो कि होइन जाँच्नको लागि हामीलाई टेक्ने अवसर प्राप्त भएको छ । यो हामीलाई हामी साँच्चिकै सुध्रिएको हो भन्ने देखाउने एउटा मौका हो । यसलाई त्यो मौकाको रुपमा हामीले उपयोग गर्‍यौँ भने हामीले हाम्रो कार्यशैलीमा परिवर्तन गरेकै हो । र हामी अहिले जे भनिराखेका छौँ त्यो बाचा कर्मबाट पूरा गर्न तयार छौँ भन्नेकुरा आगामी कार्यशैलीबाट प्रमाणित ग¥यौँ भने राप्रपालाई पहिलो पार्टी बन्न कसैले रोक्न सक्दैन । अब यो यात्रा उकालो यात्रा प्रारम्भ भएको छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्